
नेकपा एमाले, कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की फेरि मुख्यमन्त्री बन्ने भएका छन् ।
२०७९ पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले पुस २५ गते शपथ लिएका थिए । माओवादी केन्द्रसहितका दलको समर्थनमा मुख्यमन्त्री बनेका कार्की नेतृत्वको सरकार केन्द्रमा समीकरण फेरिएसँगै संकटमा परेको थियो ।
जसपा र माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै असार १५ गते पुनः विश्वासको मत लिन नसक्दा उनी नेतृत्वको सरकार ढलेको थियो ।
त्यसपछि नेपाली कांग्रेसका उद्धव थापा मुख्यमन्त्री बनेको थिए ।
सर्वाेच्च अदालतका न्यायधीश सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले थापालाई सरकारलाई पदमुक्त गर्दै ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्री बनाउन परमादेश दिएसँगै उनी मुख्यमन्त्रीमा ‘कमब्याक’ भएका छन् ।
उनले आइतवारसम्म शपथ ग्रहण गर्ने बताएका छन् । ‘प्रदेश प्रमुखले ४८ घण्टा भित्र मलाई बोलाउनुहुन्छ, त्यसपछि आइतवारसम्म शपथ ग्रहण हुन्छ’ कार्कीले लोकान्तरसँग भने ।
अहिले कोशी प्रदेशको बजेट शून्यताको अवस्थामा छ ।
कोशी प्रदेशसभाको अधिवेशन जेठ ३१ गते अन्त्य गरेर ३२ गते आगामी आर्थिक वर्षको बजेट अध्यादेशमार्फत ल्याइएको थियो ।
उक्त अध्यादेशलाई प्रतिस्थापन गर्न नसक्दा कोशी प्रदेश सरकार अहिले बजेट विहीनताको अवस्थामा छ ।