३१ जेठ २०८३, आइतबार

दुर्गमका स्थानीयलाई सर्पदंशको उपचार पाउनै मुस्किल, धामी-झाँक्रीकोमा धाउँदा-धाउँदै जान्छ ज्यान

भदौ २२, २०८०
भोजपुर
दुर्गमका स्थानीयलाई सर्पदंशको उपचार पाउनै मुस्किल, धामी-झाँक्रीकोमा धाउँदा-धाउँदै जान्छ ज्यान

भोजपुरको दुर्गम भेगका स्थानीयलाई सर्पदंशको उपचार पाउनै समस्या हुने गरेको छ । दुर्गम भेगका स्थानीयलाई सामान्य स्वास्थ्योपचार लिन घन्टौँ हिँड्नुपर्ने अवस्था रहेको छ । सर्पदंशको समयमै उपचार नपाउँदा कतिपयले अकालमा ज्यान गुमाउने गरेका छन् । 

वर्षात्ले ग्रामीण भेगका अधिकांश सडक बन्द रहेकाले मानिसको दैनिक जनजीवन कष्टकर बनेको छ । सडक बन्द भएकाले एम्बुलेन्स तथा यातायात सेवा नहुँदा समयमा बाहिरका अस्पतालमा लैजान समस्या हुने गरेको स्थानीय बताउँछन् ।

स्टेचर तथा डोकोमा बोकेर बिरामीलाई अस्पतालसम्म ल्याउनुपर्ने बाध्यता हुँदा उपचार नपाएर ज्यान जाने अवस्था छ । सर्पदंशको उपचारलाई सहज बनाउनुपर्ने टेम्केमैयुङ गाउँपालिकाका स्थानीयवासी मानबहादुर विष्टले बताए ।

'समयमा उपचार नपाउँदा सर्पको डसाइबाट अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छ,' उनले भने, 'खेतबारीमा काम गर्नैपर्‍यो । काम गर्ने क्रममा ख्याल गर्दा पनि सर्पले डस्ने सम्भावना बढी हुन्छ । सर्पले डसेको अवस्थामा उपचार पाउन मुस्किल छ । हाम्रो यो ठाउँबाट सामान्य स्वास्थ्य सेवा लिनका लागि तीनदेखि चार घन्टा हिँडेर स्वास्थ्यचौकी जानुपर्ने अवस्था छ । जिल्ला अस्पताल पुग्न त झनै समस्या छ । सर्पको डसाइ तथा अन्य आकस्मिक घटना हुँदा स्वास्थ्योपचार नपाएरै ज्यान गुमाउनुपर्ने अवस्था छ ।'

यो समयमा जिल्लामा सर्पदंशका बिरामी पनि बढ्ने गरेका छन् । तर, सर्पको डसाइको उपचार पाउन भने स्थानीयलाई सास्ती छ । प्रायः यस्ता घटना ग्रामीण भेगका गाउँघरमा बढी हुने गरेका छन् ।

सर्पदंश उपचारका लागि राज्यले ध्यान दिन आवश्यक रहेको स्थानीय हरिबहादुर लम्सालले बताए  । सर्पले डसेपछि मानिस धामीझाँक्रीको खोजीमा समय बिताउने गरेकाले धेरैको ज्यान जाने गरेको उनले बताए । 
 
सर्पको डसाइको सामान्य उपचार मात्र गर्न सकिने जिल्ला अस्पताल भोजपुरले जनाएको छ । धेरै विषालु पर्सले टोकेर रक्तनली नै खराब हुने खालका जटिल अवस्थामा भने बाहिर नै सिफारिस गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ । 

गर्मी बढेसँगै सर्प आफ्नो बासस्थान छाडेर बाहिर निस्कने गर्दछन् ।

salt training

कमेन्ट गर्नुहोस्