२४ जेठ २०८३, आइतबार
सर्वोच्चको परमादेश

कोशी प्रदेशमा आजै मुख्यमन्त्री नियुक्तिको तयारीः सर्वोच्चको पत्र कुर्दै प्रदेश प्रमुख

भदौ २२, २०८०
विराटनगर
कोशी प्रदेशमा आजै मुख्यमन्त्री नियुक्तिको तयारीः सर्वोच्चको पत्र कुर्दै प्रदेश प्रमुख

कोशी प्रदेशमा आजै (शुक्रबार) नयाँ मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ । सर्वोच्च अदालतको आदेश प्राप्त हुनासाथ नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको कार्यालयको तयारी छ ।

सर्वोच्चले बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गर्दै ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

अदालतको पत्र प्राप्त हुनसाथ मुख्यमन्त्री नियुक्ति गर्ने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । ‘सर्वोच्चको फैसलाको पत्र प्राप्त भएको छैन,’ प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले भने, ‘फैसला आउनसाथ प्रदेश प्रमुख परशुराम खापुङले आजै मुख्यमन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको छ ।’

सर्वोच्चले यसअघिका मुख्यमन्त्री थापाले लिएको विश्वासको मतलाई बदर गरिदिएको थियो । थापा पदमुक्त भएसँगै संविधानको धारा १६८ (३) अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा कार्की दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त हुन लागेका हुन् । 

एमाले संसदीय दलका नेता कार्कीले प्रदेश प्रमुखको कार्यालयबाट अहिलेसम्म कुनै जानकारी नआएको बताए । उनी एमाले मोरङको पार्टी कार्यालयमा प्रदेश प्रमुखको कार्यालयको पत्र कुरेर बसिरहेका छन् ।  

यसअघि कोशी प्रदेश सरकारको चौथो मुख्यमन्त्रीको रूपमा २०७९ पुस २४ गते नियुक्त भएका कार्की १७४ दिनमा बिदा भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्