
समाजवादी मोर्चाका नेताहरूले अबको मिसन समाजवादको लक्ष्य रहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी पार्टी (जसपा) र नेकपासम्बद्ध समाजवादी मोर्चाले विराटनगरमा सोमवार आयोजना गरेको सन्देश सभामा बोल्ने नेताहरूले यस्तो बताएका हुन् ।
नेताहरूले भ्रष्टाचार, बेतिथिका विरुद्ध सडकमा लाखौँ जनता उतार्नेदेखि लिएर घर–घरमा समाजवादी मोर्चा बनाउने उद्घोष गरेका छन् ।
सन्देश सभालाई सम्बोधन गर्ने क्रममा नेताहरूले समाजवादी मोर्चाको स्थापनाले मुलुकबासीमा आशा बढाएको दाबी गरे । त्यही आशा फैलाउन देशव्यापी अभियान थालिएको उनीहरूको भनाइ थियो । अब मोर्चा समाजवादको लक्ष्यका साथ अगाडि बढेको बताउँदै नेताहरूले सोमवारको सभाले प्रतिगामीहरूलाई प्रतिरोध गर्न जनतामा नयाँ आशा सञ्चारित गरेको उल्लेख गरे ।

सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलवार सुदूरपश्चिमको सभा सकेर दलाल र गुन्डाहरूका विरुद्ध लाखौँ जनता सडकमा उतार्ने बता । ‘हामी भोलि सुदूरपश्चिमको कार्यक्रम सक्छाैँ । अनि मोर्चाको पनि घोषणा गर्छाैं,' उनले भने, ‘त्यसपछि कार्यक्रम बनाउने र प्रतिक्रान्ति, दलाल, गुण्डागर्दीको विरुद्धमा सडकमा उतारेर हामी ज्युँदै छौं भन्ने देखाउँछौ ।’
नक्कली भुटानी शरणार्थी प्रकरणबाट सुरु भएको यो अभियान ललिता निवासहुँदै सुनको तस्करसम्म पुगेको उनको भनाइ थियो ।
बेथितिविरुद्ध आफूले एकपछि अर्काे कदम लिएपछि अहिले देशभर प्रतिक्रियावादीहरूले षड्यन्त्र गरिरहेको प्रचण्डले आरोप लगाए ।
रोकिएको पञ्चेश्वर परियोजना अगाडि बढाएको जनाउँदै उनले अब लोयर कर्णाली र चिसापानी आयोजनाको अध्ययन भइरहेको पनि जानकारी दिए । सीमा समस्या हल गर्ने र विद्युत व्यापारलगायतका विषयमा भारतसँग सहमति भएको उनले बताए ।
‘सीमा समस्या हल गर्ने र विद्युत व्यापारलगायतका विषयमा भारतसँग सहमति भइसकेको छ,’ उनले भने, ‘आसन्न चीन भ्रमणमा कृषि क्षेत्रको विकास र व्यापार घाटा कम गर्ने, नाकाहरू खोल्ने, चीनसँग विद्युत व्यापारको ढोका खोल्ने विषयमा समझदारी हुनेछ ।’

सभालाई सम्बोधन गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिसन समाजवाद लिएर आफूहरू अगाडि बढेको बताए । मोर्चाले सकारात्मक सन्देश दिँदै जनतामा आशा र आत्मविश्वास दिनुपर्ने उनले उल्लेख गरे
नेपालको र विश्वकै परिस्थिति जटिल रहेको बताउँदै नेपालले यस्तो बेलामा राष्ट्रिय स्वाधीनताको रक्षा महत्त्वपूर्ण हुने बताए ।
उनले सरकार जोगाउनका लागि मोर्चा निर्माण नभएको स्पष्ट पार्दै वर्तमान गठबन्धन सरकारले राम्रो काम गरिरहेको दाबी गरे ।
अमेरिकी परियोजना एमसीसीको व्याख्यात्मक टिप्पणी गरेर नेपालले आफ्नो हात माथि पारेको पनि उल्लेख गरे । उनले नेपाली संसद्मा भएको व्याख्यात्मक टिप्पणीका कारण एमसीसी कार्यान्वयनयोग्य भएको दाबी गरे ।

कार्यक्रममा बोल्दै जसपाका अध्यक्ष उपेन्द्र यादवले संविधानले दिएको अधिकार प्रत्याभूति गर्न कानून बनाउन नसकिएको गुनासो गरे । गणतन्त्र स्थापनापछि १३ पटक सरकार परिवर्तन भएको स्मरण गर्दै उनले जनताको जीवनस्तर उकास्न नसकिएकोमा असन्तुष्टि व्यक्त गरे ।
उनले सत्ताको फोहोरी खेलको कारण प्राप्त उपलब्धिलाई संस्थागत गर्न नसक्नु र बनेका कानून पनि कार्यान्वयन गर्न नसकेको अवस्था रहेको उल्लेख गर्दै सबैको ध्यानाकर्षण गराए ।
अध्यक्ष यादवले प्रधानमन्त्री प्रचण्डले खुदाखाद्री कुरामा नअलमल्ली मुलुकलाई निकास दिन अगुवाइ गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालको सबै अन्तर्विरोधको हल गर्न समाजवादी मोर्चा बनेको बताए । समाजवादी मोर्चा इतिहासको नयाँ प्रयोग भएको बताउँदै उनले स्पष्ट दृष्टिकोण लिएर आएको उल्लेख गरे । मोर्चाले ९५ प्रतिशत जनताको चाहना र आकांक्षा पूरा गर्ने उनले दाबीसमेत गरे । मोर्चालाई देशका कुना–कुना पुर्याउने उनले उद्घोष पनि गरे ।
महासचिव विप्लवले माओवादी घटक सबै एक हुने दिन आएको पनि बताए । कम्युनिस्टहरू चिरा–चिरा हुँदा अरूले फाइदा उठाएको उल्लेख गर्दै उनले देशलाई गाह्रो भएको अवस्थामा माओवादी एकै ठाउँमा आउने दाबी गरे ।