२८ जेठ २०८३, बिहीबार

४१ स्थानमा सञ्चालित सैन्य तालिम सम्पन्न

भदौ २६, २०८०
काठमाडौं
४१ स्थानमा सञ्चालित सैन्य तालिम सम्पन्न

विभिन्न ४१ स्थानमा सञ्चालित नेपाली सेनाको सैन्य आधार तालिम सम्पन्न भएको छ । 

२०७९ मंसिर १ गतेदेखि सञ्चालित सैन्य तालिम यही भदौ २५ गते समापन गरिएको सेनाले जनाएको छ ।

तालिम समापनका अवसरमा सैन्य जवानहरूले बेग्लाबेग्लै तालिम केन्द्रहरूमा अन्तिम दलेल कवाज प्रदर्शन गरेका थिए ।

सेनाका अनुसार देशभर ३ हजार २८८ जना पुरुष तथा ६२८ जना महिला गरी कुल ३ हजार ९१६ जना सैन्यहरू दीक्षित भएका छन् ।

श्री नं १ सैन्य तालिम केन्द्र, त्रिशूलीमा बलाधिकृत रथी सरोजप्रताप राणा र श्री नं २ सैन्य तालिम केन्द्र, सैनामैनामा श्री सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकाल तथा अन्य स्थानमा सम्बन्धित पृतनापति, बाहिनीपतिले कवाज निरीक्षण गर्नुका साथै सम्बोधन तथा उत्कृष्ट शिक्षार्थीलाई पुरस्कृत गरेका थिए ।

तालिमरत शिक्षार्थीको परिवारजनको उपस्थितिमा तालिमको समापन कार्यक्रम सञ्चालन भएको थियो । श्री नं १ सैन्य तालिम केन्द्रमा आयोजित समारोहलाई सम्बोधन गर्दै बलाधिकृत रथी राणाले नेपाली सेनाजस्तो गरिमामय संस्थामा सिपाही दर्जामा नियुक्त भएको सुखद् घडीमा तालिम प्राप्त सिपाहीलाई बधाई दिएका थिए ।

साथै उनले राष्ट्र, जनता र संस्थाप्रति समर्पित रहँदै कर्मठ, बफादार, इमान्दार, अनुशासित एवं नेपाली सेनाको मूल्य मान्यता र परम्परालाई पालना गर्न तथा जस्तोसुकै विषम परिस्थितिमा समेत विचलित नभई आफ्नो कर्तव्यपथमा अडिग रहन निर्देशन दिएका थिए ।

यसअघि यही भदौ २४ गते प्रधान सेनापति प्रभुराम शर्माले आफ्नो जिम्मेवारी सम्हालेको दोस्रो वर्ष पूरा भएको अवसरमा आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरी सिपाहीलाई बधाई दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्