![यसरी हुन्थ्यो हङकङबाट नेपालमा सुन तस्करी [इन्फोग्राफ]](https://lktcdn2.prixacdn.net/media/4_final_huTnkh9Nlc.jpg)
हङकङबाट नेपालमा सुन तस्करी गर्नेमध्ये माथिल्लो तहमा मुख्य पाँच जना रहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ । ६० किलो ७१७ ग्राम सुन प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउनुअघि पत्रकार सम्मेलन गर्दै सीआईबीले मिस्टर लिन र मिस लीसहित अन्य तीन जना उपल्लो तहमा रहेको जनाएको हो ।
हङकङबाट त्रिभुवन विमानस्थलमा आइपुग्दा भन्सार एजेन्ट यादव पराजुलीले समन्वय गर्ने गरेको देखिएको छ । त्यसपछि सम्बन्धित गन्तव्यमा डेलिभरी हुने गरेको सीआईबीले जनाएको छ ।
तस्करीकै लागि टासी भन्ने थुप्तिङ राईले विभिन्न व्यक्तिका नाममा नेपालमा कम्पनी खडा गरेको देखिएको छ । थुप्टिङ छिरिङ र हर्कराज राईले कम्पनीको नाममा रहेका सटरहरू रेखदेख गर्ने गरेको देखिएको छ ।
उनीहरूले ह्वाट्स् एपलगायत अनलाइन माध्यमबाट सम्पर्क गर्ने गरेको सीआईबीले जनाएको छ ।
सीआईबीले ३ अर्ब ५० करोड २ लाख बिगो कायम गरेर मुद्दा दायर गर्न सिफारिश गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा आइतवार बुझाउने तयारी गरिएको अनुसन्धान प्रतिवेदनमा सीआईबीले उक्त रकम बराबर बिगो कायम गर्नुपर्ने राय पेश गरेको हो ।
पक्राउ परेका ३२ र फरार १८ गरी ५० जनालाई प्रतिवादी बनाउनुपर्ने सीआईबीको निष्कर्ष छ । पक्राउ परेकामध्ये २३ नेपाली र ९ जना विदेशी नागरिक रहेको सीआईबीले आइतवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
फरार १८ मध्ये १४ जना विदेशी र ४ नेपाली रहेको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले पत्रकार सम्मेलनमा जानकारी गराइन् ।
विमानस्थल भन्सार पास भइसकेको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागको टोलीले साउन २ गते बरामद गरेको थियो ।
शुरूआति १८ दिन विभागले अनुसन्धान गरेर त्यसपछि सीआईबीलाई अनुसन्धानको जिम्मा लगाइएको थियो । अनुसन्धानका क्रममा यही समूहले थप सुन पनि भित्र्याएको पाइएको हो ।
इन्फोग्राफमा हेर्नुहोस्








