३२ असार २०८३, बिहीबार
डाक्टर कुटपिट प्रकरण

हेटौँडा अस्पतालका चिकित्सकसहित ७८ जनाले दिए सामूहिक राजीनामा, आकस्मिकबाहेक सबै सेवा बन्द

भदौ २९, २०८०
काठमाडौं
हेटौँडा अस्पतालका चिकित्सकसहित ७८ जनाले दिए सामूहिक राजीनामा, आकस्मिकबाहेक सबै सेवा बन्द

हेटौँडा अस्पतालमा कार्यरत चिकित्सकसहित ७८ स्वास्थ्‍यकर्मीले सामूहिक राजीनामा दिएका छन् । बुधबार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त बिडारीलाई कुटपिट गर्नेलाई कारबाही माग गर्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् । 

चिकित्सक तथा स्वास्थ्यकर्मीले हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डाक्टर रामचन्द्र सापकोटालाई सामूहिक राजीनामा बुझाएको हेटौँडा अस्पतालका डाक्टर हरि खड्काले लोकान्तरलाई जानकारी दिए ।

उनका अनुसार राजीनामा दिनेमा हेटौंडा अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीसहित अन्य अस्पतालका पनि छन् । ‘हामीले घटना घटेको ४८ घण्टासम्म कुर्‍यौँ । तर, पीडितले न्याय पाउने छाँट नदेखिएपछि राजीनामा दिने निर्णयमा पुगेका हौँ’, डाक्टर खड्काले भने, ‘असुरक्षामा हामीले कसरी काम गर्ने ? दोषीमाथि कारबाही नभएसम्म हामी आन्दोलन गर्छौं ।’

दोषीलाई कारबाहीको दायरामा नल्याएसम्म आजदेखि आकस्मिकबाहेक हेटौँडा अस्पतालका सबै सेवा बन्द गरी चिकित्सक/स्वास्थ्यकर्मी आन्दोलनमा उत्रेको उनले बताए । 

क्रमश: देशव्यापी आन्दोलन गर्ने उनले चेतावनी दिए । 

डेङ्गु रोगबाट सङ्क्रमित हेटौँडा–१२ पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरवाही गरेको भन्दै दुई चिकित्सकमाथि बुधबार हातपात तथा कुटपिट भएको थियो । चिकित्सकमाथि अस्पताल कक्षमा हातपात र कुटपिट गर्ने चार जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । 

कुटपिटमा संलग्न प्रधानकी श्रीमती र छोरीसहित अन्य दुई जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्