
एसिया कप क्रिकेटअन्तर्गत सुपर ४ को अर्थहीन खेलमा आज भारत र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ ।
खेल नेपाली समयअनुसार आज दिउँसो ५ः१५ बजे कोलम्बोस्थि प्रेमदासा रंगशालामा हुँदैछ । भारत जारी प्रतियोगिताको फाइनलमा पुगिसकेको छ । भारतले पाकिस्तान र श्रीलंकालाई हराएको थियो ।
यस्तै, बंगलादेश पनि पाकिस्तान र श्रीलंकासँग पराजित भएर बाहिरिसकेको छ ।
यसर्थ, यो खेल जसले जिते पनि यसको प्रतियोगिताका खासै अर्थ राख्दैन ।
यद्यपि, प्रतिष्ठाको लडाइँको रुपका भारत र बंगलादेश मैदानमा उत्रँदै छन् ।
यी दुई टोलीबीच ३९ वटा एकदिवसीय (ओडीआई) खेल भइरसकेको छ । यसमा भारत हाबी छ । उसले ३१ खेल जितेको छ । यता, बंगलादेश भने मात्र ७ खेलमा विजयी भएको छ । एक खेल भने अनिर्णीत बनेको छ ।

अर्थहीन खेल भएपनि भारत बंगलादेशमाथि वर्चश्व कायम राख्न शतप्रतिशत जीतकै खोजीमा हुनेछ । अर्कोतिर बंगलादेश भने बलियो भारतलाई हराउँदै अप्रत्यासित नतिजा निकाल्न चाहन्छ । भारतलाई हराएमा यो उसका लागि सान्त्वना जीत पनि हुनेछ ।
प्रतियोगिताको फाइनल खेल आइतवार भारत र श्रीलंकाबीच हुनेछ ।