०९ असार २०८३, मंगलबार

बाल मन्दिरमा भएका अनियमितताप्रति सरकार गम्भीर छ : मन्त्री आचार्य

भदौ २९, २०८०
काठमाडौं
बाल मन्दिरमा भएका अनियमितताप्रति सरकार गम्भीर छ : मन्त्री आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बाल मन्दिरमा भएका अनियमितताप्रति मन्त्रालय गम्भीर रहेको बताएका छन् ।

५९औं राष्ट्रिय बाल दिवसका अवसरमा नेपाल बाल सङ्गठन, केन्द्रीय कार्यालय (बाल मन्दिर) द्वारा आज आयोजित ‘पुरस्कार तथा प्रमाणपत्र वितरण’ समारोहमा मन्त्री आचार्यले विगतमा बाल मन्दिरका जग्गा/जमिन, भौतिक सम्पत्तिमाथि भएका अनियमिततालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको बताएका हुन् ।

“विगतमा अनैतिक र अवैधानिक किसिमले लिएका सम्पत्ति बाल सङ्गठनको नाममा आउनुपर्छ । बाल सङ्गठनका नाममा भएका भौतिक सम्पत्तिलाई व्यवस्थित र एकीकृत गर्दै सम्पूर्ण बालबालिकाको हक, हितमा लगाउनका निमित्त मन्त्रालय गम्भीर रहेको छ”, उनले भने, “बाल मन्दिरका नाममा करोडौं सम्पत्ति छ तर संरक्षित बालबालिका अत्यन्तै दयनीय अवस्थामा बसिरहेका छन् ।”

बाल सङ्गठनका विकृति विसङ्गतिलाई हटाएर सही बाटोमा लैजान पहल गर्ने उनको भनाइ छ । बाल सङ्गठनका अध्यक्ष विद्या न्यौपानेले २०२१ सालदेखि नेपाल बाल सङ्गठनको स्थापना भएसँगै नेपालले राष्ट्रिय बाल दिवस मनाउँदै आएको जानकारी दिँदै बाल मन्दिरका इतिहासका पानाको संरक्षण गर्न पहल गर्नुपर्ने बताए । 

कार्यक्रममा चित्रकला प्रतियोगितामा ३४ वटा विद्यालयबाट ९९ बालबालिकाले सहभागिता, बाल गीत प्रतियोगितामा २४ विद्यालयबाट एक सय १७ बालबालिकाको सहभागिता र नृत्य प्रतियोगितामा २० वटा विद्यालयबाट एक सय ३६ जना बालबालिकाको सहभागिता रहेको सङ्गठनले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्