
सरकारले हचुवाका भरमा विभूषण वितरण गर्ने कार्य तत्कालका लागि स्थगित गरेको छ ।
विभूषण वितरण कार्यलाई मर्यादित बनाउन कार्यदल गठन गर्ने पनि सरकारले निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसका अवसरमा राष्ट्रपतिले विभूषण प्रदान गर्ने कार्य तत्कालका लागि रोक्ने निर्णय गरेको हो ।
‘संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गर्ने हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने निर्णय भएको छ’ मन्त्रिपरिषद् स्रोतले भन्यो ।
कार्यदलबाट अध्ययन प्रतिवेदन नआएसम्म तत्कालका लागि विभूषण घोषणा कार्य स्थगन गरिएको सरकारी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन ।
यसअघि गृहमन्त्रालयबाट हचुवाका भरमा विभूषण प्रदान गर्न सिफारिस गरिँदै आएको थियो । त्यसरी वितरण गर्ने विभूषण कतिपय व्यक्तिले अस्वीकार गरेका थिए । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रस्तावमा हचुवामा विभूषण वितरण गर्ने कार्य रोक्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।
शुक्रवारको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।