
चिकित्सकहरूले देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेक सबै सेवा बन्द गरेपछि बिरामीहरू मर्कामा परेका छन् । देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द भएपछि बिरामीहरू अत्यावश्यक उपचार पाउनबाट वञ्चित भएका हुन् ।
गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालमा 'ओपीडी' सेवा बन्द गरिएको हो ।
चिकित्सकले सेवा नदिँदा अस्पतालमा पुगेका बिरामीहरू मर्कामा परेका छन् । आन्दोलन थाहा नपाएर अस्पताल पुगेका बिरामीहरू उपचारबाट वञ्चित भएका हुन् । बिहानै अस्पताल पुगेका बिरामी र उनीहरूका आफन्तले अस्पतालको ‘ओपीडी’ नखुल्दा उपचार गराउन पाएका छैनन् ।
विभिन्न अस्पताल लगायतमा पुगेका बिरामी उपचार नपाएर बसिरहेका छन् । कतिपय बिरामी भने फर्किएका छन् ।

भदौ २७ गते डा. थापा र डा. विडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण भएको थियो । डेङ्गु रोगबाट सङ्क्रमित बिरामीको उपचारमा लापरवाही गरेको भन्दै उनका आफन्तले दुई चिकित्सकमाथि हातपात तथा कुटपिट गरेका थिए ।
कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।