२५ जेठ २०८३, सोमबार

चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गर्न विवेकशील साझाको माग

भदौ ३१, २०८०
काठमाडौं
चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गर्न विवेकशील साझाको माग
फाइल फोटो

विवेकशील साझा पार्टीले अस्पताल हाताभित्रै चिकित्सकमाथि भएको कुटपिटप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै वार्तामार्फत तत्काल समस्याको समाधान खोज्न पनि पार्टीले आन्दोलनरत पक्ष र नेपाल सरकारसँग अपिल गरेको छ ।

पार्टीका प्रवक्ता आशुतोष प्रधानले आइतवार एक विज्ञप्ति जारी गर्दै गत बुधवार हेटौँडास्थित एक अस्पतालमा डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि अस्पताल हातामै कुटपिट भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएका हुन् । ‘मानवीय सेवा क्षेत्र मानिने अस्पताल भित्रै अहोरात्र खटिने चिकित्सकहरूमाथि पटक–पटक आक्रमण हुनु तथा यसको शिलशिला निरन्तर बढोत्तरी हुनु बिडम्बना र चिन्ताको विषय भएको विवेकशील साझा पार्टीको बुझाई छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘निरन्तर हुने यस्ता घटना परि घटनाले रात दिन खटेर काम गर्ने चिकित्सकहरूको मनोबल कमजोर हुनेछ । फलस्वरुप विरामीहरूले प्रभावकारी उपचार पाउन कठिन हुने एवं दक्ष जनशक्ति विदेशिन बाध्य पार्न आगोमा घ्यू थपेझैँ भएको विवेकशील साझाको ठम्याई रहेको छ ।’

चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सुरक्षा ग्यारेन्टी गर्न र दोषीहरूमाथि कडा कारबाही गरेर दण्ड हीनताको अन्त्य गर्न पार्टीले सरकारसँग माग गरेको छ ।

यस्तै, चिकित्सक कुटपिट प्रकरणविरुद्ध आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सकहरूको आन्दोलनप्रति पनि पार्टीको ध्यानाकर्षण भएको जनाएको छ ।

‘स्वास्थ्य क्षेत्रजस्तो अति संवेदनशील सेवा बन्द गरेर चिकित्सकहरू नै आन्दोलनमा उत्रिँदा सर्वसाधारणको उपचार पाउने हक वञ्चित हुने र जनस्वास्थ्यमा गम्भीर असर पर्नेप्रति विवेकशील साझा पार्टी विशेष चिन्ता जाहेर गर्दछ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

अस्पतालको सेवा नै बन्द गरेर आन्दोलनमा उत्रिएका चिकित्सकहरूसँग संवाद र वार्ताको माध्यमबाट तत्काल समस्या समाधानको प्रभावकारी पहल गर्न पार्टीले आग्रह गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्