
शुक्रवारदेखि रिलिजमा आएको फिल्म ‘नाङ्गो गाउँ’ले बक्स अफिसमा बम्पर सुरुवात गरेको निर्माण पक्षले जनाएको छ ।
फिल्मले शुक्रवार र शनिवार दर्शकको ठूलो संख्यालाई हलमा तान्न सफल भएको वितरक रोहित कट्टेलले जानकारी दिए ।
उनका अनुसार शुक्रवार ७० लाखको ग्रस कलेक्सन गरेको फिल्मले शनिवार देशभरका हलमा ९० लाखको ग्रस कलेक्सन गरेको छ । २ दिनमै फिल्मले बक्स अफिसमा १ करोड ६० लाखको ग्रस कलेक्सन गर्दै बम्पर सुरुवात गरेको कट्टेलले बताए ।
फिल्मले आइतवार पनि राम्रो कलेक्सन गरिरहेको वितरक कट्टेलको भनाई छ । सोमवार तीजको विदा र असोज ३ गते संविधान दिवसको विदा परेकाले पनि फिल्मको व्यापारमा फाइदा पुग्ने देखिन्छ । सोमवार तीजको विदा परेकाले प्रदर्शकले फिल्मको शोज संख्या शुक्रबारको तुलनामा २५ प्रतिशतले बढाएका छन् । सोमवार यो फिल्मले नेपालभर १५० भन्दा बढी शोज पाएको छ । जसका कारण, व्यापार फेरि आक्रामक हुने प्रक्षेपण गरिएको छ ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहारीलगायतको अभिनय छ ।
रोहित कडरियाको प्रस्तुतिमा तयार भएको यो फिल्ममा राम श्रेष्ठको लगानी छ ।
रामहरि श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मलाई आलोक शुक्लाले खिचेका हुन् ।
