
वर्तमान प्रविधिको युगमा केवल सैद्धान्तिक ज्ञानले मात्र सक्षम जनशक्ति उत्पादन गर्न प्रायः असम्भव छ । पछिल्लो समयमा नेपालमा प्रविधि शिक्षाले निकै ठूलो फड्को मारेको पाइन्छ । यसै सन्दर्भमा काठमाडौं शान्तिनगरस्थित न्युसमिट कलेज, शान्तिनगर, काठमाडौं र टेक ट्रिक्स् नेपालद्घारा आयोजित टेक ट्रिक्स्–२०२३ आगामी वर्ष चौथो संस्करण आयोजना गर्ने प्रतिबद्वताका साथ समापन भएको छ ।
समापन समारोहको कलेजका प्रिन्सिपल चोकराज दवाडी, सञ्चालक समिति अध्यक्ष अजयप्रसाद ढकाल र त्रिवि आईओएसठीका डिन प्राडा विनिल अर्याललगायतको उपस्थिति थियो ।
प्राडा अर्यालले आईटी शिक्षामा विद्यार्थीहरूलाई आफूसँग भएको अन्तरनिहीत क्षमता प्रष्फुटन गर्न चाहिने एथेस्ट अवसर दिएको बताए ।

विभिन्न विधामा सञ्चालित प्रतियोगिताका बिजेतालाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । प्रमूख अतिथि प्राडा अर्यालले विजेताहरूलाई एक लाख ८५ हजार नगद पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए । जसअन्तर्गत आइटी क्विजमा सेन्ट लरेन्स कलेज विजयी भएको थियो भने द्वितीय स्थान क्याथफोर्ड कलेजले प्राप्त गरेको थियो । क्लास रोयल सञ्जय गौतमले जितेका थिए भने सुजन गौतम दोस्रो भएका थिए । पब्जी विजेता भने केएभसी कलेजका सुभम चित्रकारको समूह भएको थियो ।
यस्तै सुनिल गिरिको टिम हाइपको उपविजेता बन्दा टप फ्रागरको उपाधि विशेष खड्काको नाममा गएको थियो । फिफा २३ विजेता जगदीज पाण्डे भएका थिए भने उपविजेताको उपाधि समीर गुरुङले हात पारेका थिए ।
तीनदिवसीय प्रतियोगिताको मुख्य आकर्षण ह्याकाथनको उपाधि सेन्ट जेभियर्स कलेजले जितेको थियो भने सगरमागा कलेज उपविजेता बनेको थियो । यस्तै तेस्रो स्थान न्युसमिट कलेजको नाममा दर्ज भयो ।
विज्ञ परामर्शदाताको प्रत्यक्ष निगरानी र परामर्शमा उक्त परियोजना ३० घण्टा अवधिमा बनाइएको थियो । निर्णायकको भुमिकामा रहेका विभिन्न विषय विज्ञ विश्वकाजी श्रेष्ठ, रोशन खत्री, अभिषेक कोइराला र ईआर प्रवीन चौहानको निर्णयका आधारमा विजेता घोषणा गरिको थियो ।
कार्यक्रमलाई मुख्य प्रायोजन नेपाल टेलिकम, आइडिया स्टुडियो र भर्टिगोले गरेका थिए ।