
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीसँग भेटघाट गरेका छन् । भण्डारी सक्रिय राजनीतिमा फर्किने चर्चा चलिरहेका बेला महासचिव पोखरेलले भेटेका हुन् ।
पोखरेल हालै चीन भ्रमणबाट फर्केका थिए । लुम्बिनी प्रदेश अधिवेशन उद्घाटनकै दिन भदौ १६ मा चीन भ्रमणमा गएका पोखरेलले नेपाल फर्किएलगत्तै पूर्व राष्ट्रपति भण्डारीसँग भेट गरेका हुन् । भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
पोखरेल स्वयंले चीन भ्रमणपछि भण्डारीसँग भेट भएको फोटो सार्वजनिक गरेका हुन् । चीन भ्रमणपश्चात पूर्व राष्ट्रपतिज्यूसँगको भेटघाट’ भण्डारीसँगको फोटो सार्वजनिक गर्दै पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् ।
पूर्व राष्ट्रपतिका स्वकीय सचिव राजकुमार राईले सोमबार मध्याह्नतिर भेटघाट भएको जानकारी दिए । ‘पूर्व राष्ट्रपतिलाई पछिल्लो केही दिनयता सन्चो थिएन । अलि सन्चो भएपछि सोमबार मध्याह्न एमाले महासचिवसँग भेट गर्नुभएको हो,’ राईले लोकान्तसँग भने, ‘तर दुईजनाबीच मात्रै भेट भएकोले के कुरा भयो भन्नेबारे हामीलाई जानकारी भएन ।’
उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि पोखरेल भ्रमण छोट्याएर नेपाल फर्किएका थिए । नेपाल फर्किएलगत्तै सन्देश दिने हिसाबले पोखरेलले पूर्वराष्ट्रपतिलाई भेटेका हुन् ।
पोखरेलले यस्तो लेखेपछि शुभेच्छुकले एमालेको नेतृत्व परिवर्तन र कम्युनिस्टबीच एकता गर्न चीनले गरेको म्यासेज रिले गर्न भेटघाट गरेको हुन सक्ने टिप्पणी गरेका छन् । कतिपयले अब एमालेको अध्यक्ष केपी ओलीको विकल्प खोज्न पनि सुझाएका छन् ।