२२ जेठ २०८३, शुक्रबार

नगर प्रहरी कुट्ने नेताका छोरालाई उन्मुक्ति, उल्टै ३ जना नगर प्रहरीको जागिर गयो

असोज २, २०८०
विराटनगर
नगर प्रहरी कुट्ने नेताका छोरालाई उन्मुक्ति, उल्टै ३ जना नगर प्रहरीको जागिर गयो

विराटनगर महानगरपालिकाले तीनजना नगर प्रहरीलाई जागिरबाट बर्खास्त गरेको छ । नगर प्रहरी हवल्दार रमेश निरौला तथा जवानहरू विक्रम श्रेष्ठ र बब्लु केशरीलाई महानगरपालिकाले जागिरबाट हटाएको हो । 

नगर प्रहरीले विराटनगर ७ स्थित कोशी अस्पतालअगाडि रहेकाे स्नेहा फार्मेसीका सञ्चालक तथा जनता समाजवादी पार्टी (जसपा) मोरङका अध्यक्ष राजकुमार यादवलाई हातपात गरेको भन्दै महानगरपालिका प्रमुख (मेयर) नागेश कोइरालाले तीनजना नगर प्रहरीलाई सोमवारबाट लागू हुने गरी जागिरबाट हटाएका छन् ।  

गत भदौ २७ गते साढे ४ बजे विराटनगर महानगरपालिका क्षेत्रमा ट्राफिक व्यवस्थापन कार्यका लागि खटिएका नगर प्रहरी र यादवबीच पार्किङको विषयलाई लिएर विवाद भएको थियो । औषधि पसलअगाडि ‘नो पार्किङ’मा रोकेको सिटी सफारीमा नगर प्रहरीले ह्विललक गरेपछि यादवले लक खोल्न नगर प्रहरीलाई दबाब दिएका थिए । 

सफारी चालकले यादवसँग नगर प्रहरीले लक नखोलिदिएको भनेर गुनासो गरेपछि चाँडै लक खोलिदिन भन्दै दबाब दिएका थिए । त्यसपछि नगर प्रहरीले यादवलाई वडा प्रहरी कार्यालय विराटनगर लगेका थिए । 

वडा प्रहरीमा छलफल हुँदा यादवका छोरा आशिष यादवले नगर प्रहरी विक्रम श्रेष्ठमाथि  हातपात गरेका थिए । तर, नगर प्रहरी श्रेष्ठमाथि हातपात गर्ने यादवलाई अहिलेसम्म कुनै कारबाही भएको छैन । एकै प्रकृतिको घटना हुँदा तीनजना नगर प्रहरीको जागिर खाइदिने मेयर कोइरालाले नगर प्रहरीमाथि हातपात गर्ने यादवलाई भने कारबाही गर्ने प्रक्रियासमेत अगाडि बढाउन नसक्दा नगर प्रहरीहरू असन्तुष्ट बनेका छन् । 

भदौ ३१ गते महानगरमा भएको छलफलमा छानबिन गरी आवश्यक कारबाही गर्ने अख्तियारी मेयर कोइराला दिइएको थियो । त्यसैका आधारमा कोइरालाले तीनजना नगर प्रहरीलाई जागिरबाट हटाएका हुन् । यसको जानकारी महानगर स्वयम्ले विज्ञप्ति जारी गर्दै जनाएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्