
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरको श्री आधारभूत विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष पूर्णबहादुर क्यापछाकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उदयपुरगढी गाउँपालिका ७ मा रहेको विद्यालयको रकम हिनामिना गरेको अभियोगमा पूर्णबहादुर क्यापछाकी मगर भन्ने पूर्णबहादुर क्यापछाकीविरुद्ध मंगलवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
विद्यालयको आयस्रोत वृद्धिका लागि लगानी गर्ने भनी तत्कालीन प्रधानाध्यापकबाट भरपाईसमेत गरी रकम हिनामिना गरेको आयोगमा उजुरी परेको थियो ।
अनुसन्धानका क्रममा उनले आफ्नै अध्यक्षतामा व्यवस्थापन समितिको बैठक राखी निर्णय गराएर विद्यालयको खातामा रहेको १ लाख ९० हजार रुपैयाँ लिएको खुलेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
हिनामिना भएको रकम असुलउपर र कैद सजायको मागदाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।