२३ जेठ २०८३, शनिबार

गणेशमानको स्मरण गर्दै राष्ट्रपतिले भनेः लोकतन्त्रका लागि लड्नेहरूको प्रेरणाका स्रोत

असोज २, २०८०
काठमाडौं
गणेशमानको स्मरण गर्दै राष्ट्रपतिले भनेः लोकतन्त्रका लागि लड्नेहरूको प्रेरणाका स्रोत

लोकतन्त्रका लागि लड्नेहरूका लागि ४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंह प्रेरणाको अजस्र स्रोत बनेको बताएका छन् ।

सिंहको व्यक्तित्व र योगदानलाई चीरस्मरणीय बनाउन भक्तपुरको कटुञ्जेमा निर्माण गरिएको गणेशमान बाटिकामा रहेको पूर्णकदको शालिक  मंगलवार अनावरण गर्दै राष्ट्रपति पौडेलले यस्तो धारणा राखेका हुन् ।

‘जेलनेल, निर्वासन र क्रान्तिका कठिन समयमा पनि लोकतन्त्रको पक्षमा सतिसाल झैँ उभिने मात्र नभएर आफ्नो विचार र अडानमा अडिग रहने सिंहको स्वभाव हामीजस्ता लोकतन्त्रमा लाग्ने र लड्नेहरूका लागि प्रेरणाको अजस्र स्रोत बन्यो र अझै बनिरहने छ,’ उनले भने । 

राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रलाई राज्य सञ्चालनको एउटा माध्यममात्र होइन जीवन दर्शन र संस्कार बनाएर सिंहले देखाएको बाटोमा हिड्न सक्यांै भनेमात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा व्यक्त गरे । 

‘त्याग, आदर्श र निष्ठाको राजनीतिलाई मन, वचन र कर्मले गणेशमानजीले निर्वाह गर्नुभएको काम सबैका लागि सधैँ प्रेरणा बन्नेछ भन्ने मैले विश्वास लिएको छु । राजनीतिलाई सत्ता र शक्तिको साधन होइन राष्ट्रनिर्माणको लागि जीवन समर्पित गर्ने आदर्श, त्याग र निष्ठाको निष्काम कर्म हो भनेर प्रमाणित गर्ने गणेशमानजीको यही जीवन दर्शनको सन्देश हामीले वर्तमान र भावी पुस्तासम्म पुर्याउन सक्नुपर्छ,’ उनले भने । 

सिंहसँगको साथ र सान्निध्यता जुन मैले मेरो राजनीतिक जीवनमा पनि पाएको र जुन आज उनको  स्मृतिमा पनि ताजै रहेको राष्ट्रपति पौडेलको भनाइ थियो । त्यसले आफूलाई सदैव सत्य, निष्ठा र आदर्शको बाटोमा हिड्न अभिप्रेरित गरिरहेको उनले बताए ।  

अर्थमन्त्री डा प्रकाशशरण महतले बाटिकाको बाँकी काम सम्पन्न गर्न सरकारले पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

त्यसैगरी सिंहका पुत्रसमेत रहेका सांसद प्रकाशमान सिंहले राजनीतिक परिवर्तनलाई दिगो बनाउनका लागि आर्थिक विकास अपरिहार्य रहेको भनेर बुवाले २०४६ सालपछि भनेको कुरा अझै सान्दर्भिक रहेको बताए । 

सो क्रममा बाटिका निर्माणमा महत्वपूर्ण सहयोग गरेको भन्दै पूर्वसांसद रामेश्वर ढुंगेललाई मरणोपरान्त सम्मान गरिएको थियो ।

त्यस्तै गणेशमान सिंहको शालिक बनाउने मूर्तिकार महेश तुलाधरलाई पनि सो अवसरमा सम्मान गरिएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्