
नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले आगामी राजनीतिक बाटो पहिल्याउन नसक्दा मुलुकबाट युवा जनशक्ति रोजगारीको नाममा विदेशल पलायन भइरहेको बताएका छन् । उनले संविधान निर्माणपछि बनेको सरकारको नेतृत्वकर्ताले राष्ट्रिय पुँजीको विकास गर्न नसक्दा त्यसबाट समाजमा निराशा र अराजकताले प्रस्रय पाएको बताए । उनले अब स्वदेशमा रोजगारी सिर्जना गर्ने गरी राजनीतिक कार्यक्रम आवश्यक रहेको उल्लेख गरे ।
एकीकृत समाजवादी रुपन्देहीले मंगलवार बुटवलमा कार्यकर्तासँग गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी १० वर्षमा मुलुक बनाउने एजेन्डासहित आफ्नो पार्टी छिट्टै देशव्यापी अभियानमा सामेल हुने बताए । उनले संविधानमा समाजवाद उन्मुख भनेर लेखिएपनि त्यसको स्पष्ट बाटो कुनै पनि दलसँग नभएको बताउँदै अब त्यसको अगुवाइ एकीकृत समाजवादीले गर्ने बताए ।
आगामी १० वर्षमा राष्ट्रिय पुँजीको विकास गर्दै देशमा रोजगारीको वातावरण सृजना गर्ने बताए । उनले नेपालबाट युवाहरू विदेश पलायन हुनेक्रम बढेको बताउँदै त्यो जनशक्तिलाई नेपालमै रोजगारी दिएर राष्ट्रिय पुँजीको विकास गर्नुपर्ने बताए ।
‘हरेक वर्ष देश छोड्नेहरूको संख्या बढेको छ, ३ लाखबाट ८ लाख पुगिसक्यो, यो अवस्था निकै भयानक हो,’ महासचिव भुसालले भने, ‘अब हामीले हाम्रा छोराछोरीलाई विदेश पलायन हुनबाट रोक्ने गरी राजनीतिक रुपमा ऐजेन्डा र कार्यक्रम बनाउँदैछौँ ।’
उनले आगामी माघमा हुने एकीकृत समाजवादीको महाधिवेशनसम्म आफूहरूले १० वर्षमा राष्ट्रिय पुँजीको विकास गर्ने स्पष्ट योजना र खाका तयार पारेर राजनीतिक बाटो स्पष्ट पार्ने बताए ।
उनले प्रतिनिधिसभाको विघटन विरुद्धको लडाइँमा सफलता हासिल गरेको बताउँदै अब नेपाली मोडेलको समाजवादको कार्यक्रम समेत आफूहरूले नै दिने बताए ।
‘अहिले हाम्रा सामु, अबको बाटो के भन्ने प्रश्न छ,’ भुसालले भने, ‘यसका लागि एक डेढ महिनामा हामीले स्पष्ट राजनीतिक कार्यदिशा ल्याउछौंँ ।’