
नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार प्राप्तकर्ताहरूको नाम भैरव पुरस्कार गुठीले मंगलवार सार्वजनिक गरेको छ । भैरव पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकले पुरस्कार प्राप्तकर्ताहरूको नाम अनुमोदन गरेको हो । जसअनुसार २०८० सालको भैरव पुरस्कार वरिष्ठ हास्यव्यङ्ग्यकार मुन पौडेललाई प्रदान गरिने भएको छ ।
यो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैया रहेको छ । १ लाख १ हजार १ सय ११ रुपैयाँ राशीको भैरव वाङ्मय पुरस्कार प्राडा अभि सुवेदीलाई प्रदान गरिने गुठीले जनाएको छ ।
त्यस्तै ५१ हजार १ सय ११ रुपैयाँ राशीको भैरव प्रतिभा पुरस्कार व्यङ्ग्यकार बद्रिप्रसाद दाहाल (भस्मासुर)लाई प्रदान गरिने भएको छ । पुरस्कार प्राप्तकर्ताहरूको नाम छनोट गर्न गुठीले साहित्यकार नरेन्द्रराज पौडेलको संयोजकत्वमा साहित्यकारद्धय बाजुराम पौडेल र वसन्त रिजाल सदस्य रहेकोे चयन समिति गठन गरेको थियो ।
भैरव स्मृति दिवसको दिन यही असोज १९ गते शुक्रवार राजधानीको गोकर्णेश्वर–५ स्थित भैरव स्मृति भवनमा एक कार्यक्रम गरी घोषित पुरस्कारहरू वितरण गरिने गुठीका सचिव रिजालले जानकारी दिए । उनका अनुसार गुठीको साधारण सभा पनि सोही दिन हुनेछ ।