२९ जेठ २०८३, शुक्रबार
नाङ्गो गाउँलाई दर्शकको साथ

'नाङ्गो गाउँ'– ६ कारणले हलसम्म पुगे दर्शक

असोज ३, २०८०
काठमाडौं
'नाङ्गो गाउँ'– ६ कारणले हलसम्म पुगे दर्शक

गत शुक्रवारबाट प्रदर्शनमा आएका दुई नेपाली फिल्ममध्ये ‘नाङ्गो गाउँ’ले शुरूदेखि नै दर्शकको बढी साथ पाइरहेको छ । 

फिल्मले शुरूआती २ दिनमा १ करोड ६० लाख रुपैयाँ 'ग्रस कलेक्सन' गरेको रिपोर्ट निर्माण टीमले सार्वजनिक गरेको थियो, जसलाई वैशाखमा प्रदर्शनमा आएको ‘जारी’यताकै राम्रो ‘ओपनिङ’ मान्न सकिन्छ । 

हल सञ्चालकहरू पनि यस फिल्मले दर्शकलाई हलसम्म फर्काउन केही हदसम्म सफलता पाएको बताउँछन् । 

फिल्मले सुखद् ‘ओपनिङ’ गर्नु र दर्शकको साथ पाउनुमा केही कारणहरू छन्, जसलाई मुख्य ६ बुँदामा विश्लेषण गर्न सकिन्छ ।

 १. दयाहाङ राई र मिरुना मगरको जोडी 

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडी हुनुलाई फिल्मले सुखद् ओपनिङ गर्नुको पहिलो कारण मानिएको छ ।

यसअघि ‘कबड्डी ४’ र ‘जारी’ गरी दुईवटा फिल्ममा 'स्क्रिन' शेयर गरेका उनीहरूका दुवै फिल्म बक्स अफिसमा 'ब्लकबस्टर' भएका थिए । 

फिल्म हिट भएसँगै दयाहाङ र मिरुनाको जोडी पनि दर्शकमाझ प्रिय बनेको थियो । त्यसपछि उनीहरूले ‘नाङ्गो गाउँ’मा जोडी बनेर अभिनय गरेका थिए ।

यो फिल्मले शुरूआती चरणमा दर्शकलाई हलसम्म तान्नमा दयाहाङ र मिरुनाको जोडीको भूमिका प्रमुख रहेको पाइन्छ ।

null

२. तीजको अवसर पारेर रिलिज

तीजको अवसर पारेर प्रदर्शनमा आउनुलाई पनि फिल्मले सुखद् ओपनिङ गर्नुको अर्को कारण मान्न सकिन्छ । 

प्रदर्शनको दोस्रो दिन शनिवार, त्यसपछि तीज र संविधान दिवसको सार्वजनिक बिदा लगायतका कारण पनि यस फिल्मलाई फाइदा पुगेको छ । 

३. निर्देशक दीपेन्द्र लामा

फिल्म समीक्षकबाट निर्देशक बनेका दीपेन्द्र लामाका एकपछि अर्का पछिल्ला फिल्म हिट भइरहेका छन् । ‘छ माया छपक्कै’ र ‘दुई नम्बरी’पछि ‘नाङ्गो गाउँ’प्रति पनि दर्शक एवं समीक्षकको अपेक्षा थियो ।

यसकारण फिल्मले सुखद् ओपनिङ गर्नुको एउटा जस निर्देशक दीपेन्द्र लामा स्वयंलाई पनि जान्छ । 

४. नकारात्मक समीक्षा नआउनु

‘नाङ्गो गाउँ’ले दर्शकबाट औसत खालको समीक्षा प्राप्त गर्‍यो । सञ्चारमाध्यममा पनि यसको समीक्षा त्यति नकारात्मक देखिएन । नकारात्मक समीक्षा नआउनुले पनि फिल्मको व्यापारमा फाइदा पुगेको अनुमान गर्न सकिन्छ । 

५. सँगै रिलिज भएको अर्को फिल्मले बलियो समीक्षा नपाउनु

गत शुक्रवार ‘नाङ्गो गाउँ’सँगै ‘एक भागवत र एक गीता’ पनि प्रदर्शनमा आएको छ । यदि, ‘एक भागवत र एक गीता’को समीक्षा राम्रो आइदिएको भए त्यसको असर ‘नाङ्गो गाउँ’को व्यापारमा पर्न सक्थ्यो । तर, ‘एक भागवत र एक गीता’को समीक्षा राम्रो आउन सकेन, जसका कारण पनि ‘नाङ्गो गाउँ’को व्यापारमा फाइदा पुगेको हल सञ्चालकहरूको विश्लेषण छ ।

यद्यपि, पछिल्ला दिनमा ‘एक भागवत र एक गीता’ले पनि दर्शकको संख्या बढाउँदै लगेको छ । तर, ‘नाङ्गो गाउँ’लाई भेट्टाउन सकेको छैन । 

६. अर्ग्यानिक कथा

स्थानीय तहको राजनीतिको विषयमा बनेको ‘नाङ्गो गाउँ’को कथा आफैंमा अर्ग्यानिक छ । यसको लोकेसन पनि अर्ग्यानिक छ । स्थानीय तहमा भइरहेको राजनीति दर्शकले फिल्ममा हुबहु हेर्न पाउँछन् ।

फिल्मले दर्शकलाई कल्पनाको रंगीन संसारमा पुर्‍याउँदैन । ‘नाङ्गो गाउँ’ दर्शकको साथ पाउनुमा यसको कथा अर्ग्यानिक हुनुलाई पनि अर्को कारण मान्न सकिन्छ ।

आगामी दुईसाता कुनै पनि नेपाली फिल्मले प्रदर्शन मिति तोकेका छैनन् । असोज ५ गते र असोज १२ गते कुनै पनि फिल्म रिलिज नहुँदा त्यसको फाइदा पनि ‘नाङ्गो गाउँ’ले उठाउन सक्छ ।

अर्को फिल्म ‘एक भागवत र एक गीता’लाई पनि केही हदसम्म त्यसको फाइदा मिल्ने देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्