
काठमाडौं, ४ असोज — भारतीय हास्यकलाकार कपिल शर्मा बेंगलुरुको अस्पतालबाट डिस्चार्ज भएका छन् । तर उनी तत्कालै द कपिल शर्मा शो लिएर आउने छैनन् ।

खबरहरूका अनुसार उनी कम्तीमा एक वर्ष शोमा फर्किने छैनन् । कपिलका एक निकटवर्ती साथीले उनलाई आराम चाहिएको र तत्कालै शो नबनाउने बताए । तर कपिलले आफ्नो फिल्म फिरंगीको प्रमोसन चाहिँ गर्ने भएका छन् ।
कपिलको ४० दिनसम्म उपचार चल्नुपर्ने भएपनि उनी १२ दिन मात्र अस्पताल बसेर निस्केका छन् । उनी छिट्टै मुम्बई आएर आफ्नो आगामी फिल्म फिरंगीको बाँकी शूटिङ गर्नेछन् ।
त्यसपछि उनी फिल्मको मार्केटिङ र प्रमोसन शुरु गर्नेछन् । फिल्म नोभेम्बरमा रिलिज हुने कुरा छ ।
कपिलले वर्षौंदेखि आराम नगरिकन काम गरिरहेकाले शरीरले साथ दिन नसकेको अस्पताल स्रोतले बतायो । उनले शरीरलाई पेलिरहेकाले अप्ठ्यारो स्थिति आएको र अब उनी पूर्ण आरामको पक्षमा रहेको बताइएको छ ।
एजेन्सी