०४ साउन २०८३, सोमबार

पठनपाठन नरोक्न निर्देशन दिँदै नाम्खाले भन्यो–विद्यार्थीको नैसर्गिक अधिकारलाई ध्यानमा राख्नू

असोज ३, २०८०
हुम्ला
पठनपाठन नरोक्न निर्देशन दिँदै नाम्खाले भन्यो–विद्यार्थीको नैसर्गिक अधिकारलाई ध्यानमा राख्नू

​हुम्लाको नाम्खा गाउँपालिकाले नियमित पठनपाठन गराउन निर्देशन दिएको छ ।

संसद्‌मा दर्ता भएको विद्यालय शिक्षा विधेयकको संशोधनको माग गर्दै नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको अगुवाइमा देशभरका विद्यालय बन्द गरेर विरोधमा उत्रिएपछि गाउँपालिकाले यस्तो निर्देशन दिएको हो ।

गाउँपालिकाले एक सूचना प्रकाशित गर्दै सार्वजनिक बिदाका दिनबाहेक अन्य दिनमा नियमित पठनपाठन गराउन पालिका मातहतका मावि, निमावि र आधारभूत विद्यालयलाई निर्देशन दिएको हो ।

संसद्‌मा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूको सेवा, सुरक्षा र वृत्तिविकास लगायतका हकहितका विभिन्न महत्वपूर्ण विषयमा भएको अस्पष्टताविरुद्ध देशभरका विद्यालय बन्द गर्नाका साथै शिक्षक आन्दोलनमा उत्रिने जानकारी प्राप्त भए पनि विद्यालय बन्द नगर्न गाउँपालिकाले भनेको छ । 
   
शिक्षकले उठाएका विभिन्न माग र आवाज एकदमै यथार्थपरक तथा जायज भए पनि स–साना बालबालिकाको अध्ययन गर्न पाउने नैसर्गिक अधिकारलाई ध्यानमा राखी पठनपाठनको कार्यलाई गम्भीरतापूर्वक लिन गाउँपालिकाले आग्रह गरेको छ । 

शिक्षकहरूको माग र मुद्दाका विषयमा केन्द्रमा छलफल भइरहेकाले बालबालिकाको पठनपाठनमा बाधा वा असर नपर्ने गरी विद्यालय नियमित गर्न गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 
    
शिक्षा विधेयकको समस्या देशभरको भए पनि विद्यालय बन्द नगरी पढाइ सञ्चालनमा राख्न गाउँपालिकाले पालिकाभित्र रहेका सबै विद्यालयलाई निर्देशन दिएको थियो । गाउँपालिकामा एउटा माध्यमिक र १५ आधारभूत विद्यालय रहेका छन् । 

सोही गाउँपालिका–६ को लिमीका दुई विद्यालयमा नियमित पठनपाठन जारी भइरहेको जनाइएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्