२४ जेठ २०८३, आइतबार

महाधिवेशनमा परिवारका सदस्यले साथ दिएको भए सफलता मिल्ने थियो : नेता डा कोइराला

असोज ३, २०८०
काठमाडौं
महाधिवेशनमा परिवारका सदस्यले साथ दिएको भए सफलता मिल्ने थियो : नेता डा कोइराला

 नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा परिवारका अन्य सदस्यले सहयोग गरेको भए अहिलेको परिणाम नआउने बताएका छन् ।

कांग्रेसको केन्द्रीय कार्यालय बिपी नगरमा आयोजित बिपी साहित्य महोत्सवको तेस्रो दिनको कार्यक्रममा ‘परिवारले बुझेको बिपी’ विषयक अन्तरसंवादमा उनले पार्टीको नेतृत्व लिने कुरा सबै परिवारकै सदस्यमा मात्र भर नपर्ने भन्दै देशभरका कार्यकर्ताको भावना र सुझावबमोजिम नै आफूले पार्टीको १४औँ महाधिवेशनमा प्रतिस्पर्धा गरेर सम्मान पाएको बताए। नेता कोइरालाले बिपीले लिएको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि सान्दर्भिक भएको उल्लेख गरे ।

नेता कोइरालाले आफूहरू कोइराला परिवारका सदस्यलाई सधैँ साथमा लिएर हिँड्न चाहेको भन्दै आगामी दिनमा मिलेरै जाने भनेर डा शशाङ्क कोइराला र सुजाता कोइरालाले भनेको कुरामा आफू विश्वस्त भएको बताए । 

कांग्रेसका पूर्वमहामन्त्री तथा बिपी पुत्र डा शशाङ्क कोइरालाले पार्टीका कार्यकर्ताको सुझावबमोजिम आफू चल्ने गरेको बताउँदै १४ औँ महाधिवेशनमै आफू सभापतिमा उम्मेदवार बन्न खोजेको उल्लेख गरे । आफू १५औँ महाधिवेशनमा समेत सभापतिको आकाङ्क्षी रहेको उनले जानकारी गराए ।

आफू राजनीतिमा लागेसँगै २०६४ सालमा नवलपरासीबाट निर्वाचन लडेको प्रसङ्गमा डा शशाङ्कले भने, “मैले चार पटक जितेँ, मन्त्री भएको छैन । तर जितेँ ।” उहाँले कांग्रेसका लागि आफूहरू एकै ठाउँमा उभिनुपर्नेमा जोड दिए । नेता डा शशाङ्क कोइरालाले परिवार मिलाउन नसक्ने मान्छेले यत्रो पार्टी र सरकार कसरी मिलाउन सक्छ भनेर बिपीले आफूहरूलाई भन्ने गरेको घटना स्मरण गरे ।

पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेत्री सुजाता कोइरालाले कांग्रेसका केही जिल्लाका कार्यकर्ताले दलितसँग सँगै बसेर खाना नखाएको घटनाबाट आफू दुखित भएको बताइन् । उनले आफ्नो परिवारमा त्यस्तो विभेद कहिल्यै गर्ने नगरेको भन्दै कार्यकर्तालाई केन्द्रविन्दुमा राखेर काम गर्न पार्टीका युवा महामन्त्रीसँग आह्वान गरिन् । रासस

salt training

कमेन्ट गर्नुहोस्