
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र नेपाली कांग्रेसका प्रदेश अध्यक्ष अमरसिंह पुनको आ–आफ्नै पहिचान छ । अमर
कांग्रेस नेतासमेत रहेका चौधरी पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन भने, प्रदेश सभापति अमरसिंह वरिष्ठ नेता शेखर कोइराला पक्षका । चौधरीले विभिन्न आरोह–अवरोहमा देउवालाई साथ नछाड्नेमा पर्छन् भने अमरसिंह कोइरालालाई । लुम्बिनी प्रदेशका राजनीतिक सहयात्री चौधरी र अमरसिंहको राजनीतिक उचाइ पनि बराबरजस्तै छ । राजनीतिक भूगोल जोडिएका दुवै नेता कांग्रेसभित्र तेस्रो तहका नेतामा पर्छन् ।
दाङका चौधरी र रोल्पाबाट उदाएका अमरसिंहले आ–आफ्नो गुटमा आफूलाई सिद्ध गर्ने गर्छन् । पछिल्लो समय एकअर्काविरुद्ध दाउपेचको अभ्यास गरेका चौधरी र अमरसिंह प्रदेश सरकार र प्रदेशको राजनीतिमा एकअर्काका प्रतिस्पर्धी बनेका छन् । नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण जेल गएपछि लुम्बिनीमा चौधरीले अब आफूलाई देउवाको उत्तराधिकारी बनाउन खोज्दैछन् । यता अमरसिंह कोइराला र महामन्त्री गगन थापाको साथले आफ्नो शक्ति विस्तार गर्न खोज्दै अघि बढेपछि दुवै नेता चर्को गुटबन्दीमा विभाजित छन् । लुम्बिनीमा सत्तारुढ गठबन्धनबाट ‘मिलिजुली’ सरकारको नेतृत्व गरेपछि माओवादी केन्द्रबाट रोल्पाबाट निर्वाचित दीपेन्द्रकुमार पुनलाई मन्त्री बनाउनुपर्ने मुख्यमन्त्री चौधरीलाई दबाब छ ।
मुख्यमन्त्री बनाउने आशीर्वाद कोइरालाबाट पाएर प्रदेशसभाको उम्मेदवार बनेका थिए अमरसिंह पुन । तर, सत्तारुढ गठबन्धन छाड्दै बागी उम्मेदवार बनेर दीपेन्द्रले उनलाई पराजित गरेका थिए । आफूलाई पराजित गरेका दीपेन्द्रलाई कुनै हालतमा मन्त्री नबनाउन उनले अहिले मुख्यमन्त्रीलाई दबाब दिएको बताइन्छ । दीपेन्द्र अहिले पुनः माओवादी केन्द्रमा प्रवेश गरेर मन्त्री बन्न ‘लबिङ’मा लागेका छन् । अर्कोतिर दीपेन्द्रलाई मन्त्री बन्नबाट गठबन्धन दल कांग्रेसकै अमरसिंहले रोक्न खोजेपछि लुम्बिनी माओवादी केन्द्र मुख्यमन्त्रीसँग रुष्ट बनेको छ । मुख्यमन्त्री चौधरी पनि सभापति अमरसिंहले भन्दै आएका कुराहरू मान्न तयार देखिँदैनन् । दुवैले एकअर्कोलाई आफूनिकट नेताहरूसँग गुट राजनीतिक गरेको आरोप लगाउँछन् ।
यता मुख्यमन्त्री चौधरी मन्त्रालय विभाजन गरेर भागबण्डा मिलाउने तयारीमा लागेका छन् । यही बेला अमरसिंह भने मन्त्रालयको संख्या बढाए कांग्रेस आन्दोलनमा उत्रिने चुनौती दिँदैछन् । पार्टीको प्रदेश समितिको बैठकले मन्त्रालय नथप्न मुख्यमन्त्रीलाई आग्रह गर्दै निर्णय पनि गरे उनले । अहिले लुम्बिनीमा यी दुवै नेता जुंगाको लडाइँ चलिरहेको छ । लुम्बिनीमा राजनीतिक ‘ग्राउन्ड’ बनाउने कोसिसका कारण दुई नेताको तलसम्मै दुई गुट छन् । यसको असर कांग्रेसको पहिलो प्रदेश अधिवेशनमा प्रष्टसँग देखियो । तत्कालीन गृहमन्त्री खाँणको आग्रहमा संस्थापन पक्षबाट उम्मेदवार बनेका भरतकुमार शाहलाई पराजित गरी अमरसिंहले प्रदेश सभापति बनेर देखाएपछि त्यसको छाँया निर्वाचनमा पनि देखियो ।
‘मुख्यमन्त्री पार्टीसँग कुनै समन्वय नगरी अघि बढनुभएको छ । उहाँ भेटमा सबै गर्छु भन्नुहुन्छ । तर त्यो पछि केही गर्नुहुन्न मुख्यमन्त्री जनतासँग जोडिनुभएन शक्तिवालासँग मात्र लाग्नुभयो,’ उनी भन्छन्, ‘गठबन्धन विरुद्ध लागेर बनेकालाई अहिले मन्त्रीको पुरस्कार दिने भए किन चाहियो गठबन्धन । फेरि मुख्यमन्त्रीले उही व्यक्तिलाई मन्त्री बनाउन किन पर्यो ? मलाई योजनाबद्ध रूपमा हराउनेलाई मन्त्री बनाउन माओवादी पनि किन चाहन्छ । अनि उनीहरूसँग सधै गठबन्धन किन गर्ने ?’
दुवै नेताको राजनीतिक विगत खोतल्ने हो र वर्तमानलाई विश्लेषण गर्ने हो भने उनीहरूबीचको प्रतिस्पर्धा पेचिलो बन्दै गइरहेको छ । ‘पावर’ लिने शक्ति प्रतिस्पर्धा गरिरहेका दुई नेता पार्टी राजनीतिमा पनि उत्तिकै प्रतिस्पर्धी बनेका छन् । अमरसिंह रोल्पाबाट २०७० मा समानुपातिक तर्फ संविधानसभा सदस्य बनेपछि राज्यमन्त्री बनेका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा दाङका तत्कालीन ५ वटा निर्वाचन क्षेत्रमा कांग्रेसले जीत निकाल्दा चौधरी पनि निर्वाचित भएका थिए । राजनीतिमा पनि दुवैले लामो समय बिताएका छन् । कांग्रेस लुम्बिनी प्रदेश प्रमुख सचेतक जन्मजय तिमल्सिना दुवै नेताबीच धेरै ठूलो तिक्तता आफूले नपाएको बताउँछन् । उनी भन्छन, ‘उहाँ (सभापति अमरसिंह)ले फलानो व्यक्तिलाई मन्त्री बना, फलानोलाई नबना भनेजस्तो देखिन्छ । गठबन्धन सरकार भएपछि मन्त्रालय थपघटको विषय सरकारको हो । त्यसमा विरोध गर्न भएन । अर्कोतिर उहाँहरू एउटै प्रदेशका नेता भएकाले नेतृत्वको प्रतिस्पर्धा हुनु पनि मलाई सामान्यजस्तै लाग्छ ।’
तिमल्सिनाका अनुसार दुई नेताकै कारण लुम्बिनी कांग्रेसले पार्टीका अन्तरिक मामिलामा असामञ्जस्यता महसुस भने गरेको छैन । अर्कोतिर राजनीतिक विश्लेषकहरू भने चौधरी र अमरसिंहबीच कडा टकराब भइरहेको बताउँछन् । अब लुम्बिनीको राजनीतिमा चौधरीलाई टकराव दिने अमर पुन निस्किएको उनीहरूको विश्लेषण छ । पार्टीको सिद्धान्तको हिसाबले चौधरीभन्दा अमर अघि रहेको बताइन्छ । द्वन्द्वको बेलामा रोल्पामा माओवादीसँग टसमस नभएर कांग्रेसको राजनीति गरेका सभापति अमरसिंह मुख्यमन्त्रीका लागि भावी चुनौती पेश गरिरहेका छन् ।
को हुन् मुख्यमन्त्रीलाई टक्कर दिइरहेका अमरसिंह ?
अमरसिंह रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर ७ रोक भन्ने ठाउँमा २०२७ जन्मिएका हुन् । २०४८ सालदेखि कांग्रेसको राजनीतिमा लागेका उनी पार्टीका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालाको छत्रछायाँमा हुर्किएका थिए । कांग्रेस विभाजन हुँदा उनी तत्कालीन संस्थापन पक्षमै रहिरहे ।

रोल्पामा माओवादीको सशस्त्र द्वन्द्वकालमा पनि उनले जिल्लामा सक्रिय राजनीति गरेका थिए । निर्माण व्यवसायसँगै राजनीति गर्ने अमरसिंहका निर्माण सामग्रीहरू माओवादीले जलाइदिनेसम्मको काम गरेका थिए । अमरसिंह रोल्पाबाट विस्थापित भएर कहिले काठमाडौं त कहिले नेपालगञ्ज बस्न थाले । मुलुकमा शान्ति सम्झौता भएपछि उनी पुनः गृहजिल्ला रोल्पा फर्किएर कांग्रेसको सक्रिय राजनीतिमा होमिएका थिए ।
जिल्ला फर्किएपछि अमरसिंह २०६७ मा रोल्पा कांग्रेसको पार्टी सभापतिमा लडे पनि तीर्थ घर्तीसँग पराजित हुन पुगे । २०७० मा उनी समानुपातिकबाट संविधानसभा सदस्य भएर संसद् छिरे । संविधानसभा सदस्यसँगै उनलाई सिँचाइ राज्यमन्त्री भएर काम गर्ने अवसर पनि पार्टीले दियो । संविधानसभा सदस्यहुँदै गर्दा कांग्रेस विधान मस्यौदा समितिको सदस्यमा रहेर पनि काम गरेको अनुभव अमरसिंहसँग छ ।
उनी २०७४ मा संघीय संसद्को निर्वाचन लडे । माओवादी केन्द्रका प्रभावशाली नेता अहिलेका उपमहासचिव वर्षमान पुन ‘अनन्त’सँग चुनाव लडेका अमरसिंहले २० हजारभन्दा बढी मत ल्याए पनि जीत भने निकाल्न भने सकेनन् । अमरसिंह २०७९ मा माओवादीसँग गठबन्धन गर्दै प्रदेशसभामा मुख्यमन्त्री बन्ने गरी चुनाव लडेका थिए । तर उनी माओवादीका बागी उम्मेदवारसँग पराजित हुन पुगे ।
यता मुख्यमन्त्री चौधरी २०२६ असार १५ गते दाङको तुलसीपुर उपमहानगरपालिका–६ डुम्रीगाउँमा जन्मिएका हुन् । उनले आफूलाई जनताको कुरा सुन्ने, विकास गर्ने र उनीहरूको अपेक्षा अनुसारको काम गर्ने नेताको रूपमा चिनाउँदै आएका छन् ।