
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले एसिया प्रशान्त क्षेत्रका मुलुकहरूबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।
जापानको राजधानी टोकियोमा आयोजित एशियन रोजगारदाता सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका छन् । शान्ति र स्थायित्वविना कुनै पनि समस्या समाधान गर्न सहज नहुने भन्दै उनले सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
एफएनसीसीआईका अध्यक्ष ढकालले दिगो आर्थिक वृद्धि, रोजगारी सिर्जना, श्रम आप्रवासन र सीप विकासलगायत एसिया प्यासिफिक क्षेत्रका साझा लक्ष्य भएको बताए ।
ढकालले द्रुत डिजिटलाइजेसन र व्यवसाय सञ्चालनमा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)को एकीकरणतर्फ ध्यानाकर्षण गराएका थिए ।
उनले सम्भावित असमानताहरूलाई न्यूनीकरण गर्न श्रमिकको सीप विकास तथा क्षमता अभिवृद्धि गर्नुपर्ने बताए ।
आर्थिक वृद्धि, रोजगारी सिर्जना, साना तथा मझौला उद्यमलाई सहयोग, सामाजिक सुरक्षा, सीप विकास तथा सामाजिक सम्वादको सुदृढीकरणमा नेपाल प्रतिवद्ध रहेको उनको भनाइ थियो ।
नेपालमा लगानीको वातावरण सुधार हुँदै गएको र लगानीको प्रचुर सम्भावना रहेको बताउँदै अध्यक्ष ढकालले दुई ठूला र उदीयमान मुलुक चीन र भारतको बीचमा रहेकोले, नेपालमा बजारको ठूलो सम्भावना रहेको बताए ।