
काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले सडकमै हाजिर गरेका छन् । नेपाल शिक्षक महासङ्घको आह्वानमा जारी सडक आन्दोलनमा सहभागी बनेका उनीहरूले सडकमै हाजिर गरेका हुन् ।
महानगरले विद्यालय बन्द गरेर आन्दोलनमा नजान र गयल भएको पाइएमा कारवाही गर्ने चेतावनी दिएपछि शिक्षक–कर्मचारीले कानूनीरूपमा बच्ने र आन्दोलनलाई पनि साथ दिने बाटो रोजेका हुन् ।
महासङ्घको काठमाडौं महानगपालिका समितिका अध्यक्ष राजेन्द्र अधिकारी र सचिव हेरम्बराज कँडेलका अनुसार महानगरका प्रधानाध्यापकहरूको संयुक्त बैठकले आन्दोलनमा सहभागी हुने र सडकमै हाजिर गर्ने निर्णय गरेको हो।
उनीहरूले आन्दोलनका कारण क्षति भएको पढाइ अतिरिक्त कक्षाहरूबाट पूर्ति गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।
सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका पेशागत सवालमा असन्तुष्टि जनाउँदै महासङ्घले यही असोज ३ गतेदेखि काठमाडौं सडक केन्द्रित आन्दोलन थालनी गरेको हो ।
महासङ्घले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचनाबाहिर रहेका बालकक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायतका विषयमा सम्बोधन माग गर्दै आएको छ ।