
जिल्ला प्रशासन कार्यालय सर्लाहीले मलंगवा क्षेत्रमा बिहीबार राति १० बजेदेखि अर्को आदेश वा व्यवस्था नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ । बिहीबार राति मुर्ति सेलाउने क्रममा भएको विवादसम्बन्धी विषयलाई लिएर मलंगवा नगरपालिका क्षेत्रमा अशान्ति मच्चिएपछि प्रशासनले स्थितिलाई नियन्त्रणमा लिन अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो ।
सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी ढुङ्गामुढा प्रहार, उच्छृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुन जान सक्ने स्थिति देखिएकोले पुरानो मलंगवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट–बाबा पेट्रोल पम्म) सीमा क्षेत्रभित्र कसैले आजवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिँलडुल गर्न एवम् अरु कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
उनका अनुसार बिहीबार राति १० बजेदेखि अर्को आदेश वा व्यवस्था नहुन्जेलसम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यू आदेश जारी गरिएको हो । यो आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानून बमोजिम कारबाही समेत गर्न सक्ने प्रशासनले जनाएको छ ।