
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा शान्ति प्रक्रियाको काम अन्तिम चरणमा रहेको भन्दै अन्तर्राष्ट्रिय समुदायको सद्भाव र समर्थनका लागि अनुरोध गरेका छन् । संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै उनले नेपालको उदाहरणीय र सफल शान्ति प्रक्रियाको कामलाई उचित मान्यता दिन उनले आग्रह गरेका हुन् । महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री प्रचण्डले गएराति न्यूयोर्कमा महासभालाई सम्बोधन गरेका हुन् ।
सम्बोधनका क्रममा संक्रमणकालीन न्यायको बाँकी काम पूरा गर्नु आफ्नो प्रमुख राजनीतिक एजेन्डा रहेको उनले सुनाए । प्रधानमन्त्री तथा बृहत् शान्ति सम्झौताको हस्ताक्षरकर्ताको हैसियतमा आफूले सरोकारवालाहरूबीच सहमति निर्माण गर्न गम्भीर प्रयास गरिरहेको उनले बताए ।

शान्ति प्रक्रियालाई टुंग्याउने क्रममा कुनै पनि मानवअधिकारको गम्भीर उल्लङ्घनको घटनामा माफी नहुने प्रतिवद्धता उनले जनाए ।
नेपालको राजनीतिक गतिले स्थिर आकार लिएकाले अब आफूहरूको ध्यान आर्थिक रुपान्तरणको एजेन्डामा रहेको उनले बताए । राजनीतिक उपलब्धिलाई सामाजिक–आर्थिक विकासले मात्र दीगो बनाउन सकिने कुरामा नेपाल सचेत रहेको उनको भनाइ थियो ।
विश्वले अभूतपूर्वचुनौतीहरूको सामना गरिरहेको बेला विश्वास निर्माण गर्ने, साझेदारी र सहकार्यलाई प्रवर्द्धन गर्ने र एकता कायम गर्ने समय आएको उनले बताए ।