काठमाडौँ, असोज ४ — प्रदेश नम्बर २ का ८ जिल्लामा असोज २ गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना गर्ने कार्य जारी रहेको छ ।

मतगणना भइरहेका १३५ स्थानीय तहमध्ये धनुषा जिल्लाको हंसपुर नगरपालिका र सिरहाको कर्जन्हा नगरपालिकाको मतगणना कार्य सम्पन्न भई मतपरिणाम सार्वजनिक भएको छ ।
हंसपुर नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार विजयी भएका छन् भने कर्जन्हामा माओवादी केन्द्र विजयी भएको छ ।
मतगणना जारी रहेका १३३ स्थानीय तहमा शान्तिपूर्णरुपमा मतगणना कार्य सञ्चालन भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जे.इ.ओ.सी.) आज साँझसम्म प्राप्त विवरण अनुसार, हालसम्म २४९ वडाको मतपरिणाम प्राप्त भइसकेको छ । जसअनुसार, सप्तरी जिल्लाका १८, सिरहाका ३५, धनुषाका ४२, महोत्तरीका ३०, सर्लाहीका ४४, रौतहटका ३६, बाराका ३१ र पर्सा जिल्लाका १३ वटा वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ ।
मतगणना कार्यलाई सकेसम्म छिटो सम्पन्न गर्नका लागि विभिन्न मतगणना स्थलमा निर्वाचन अधिकृतहरूले थप मतगणना टोली गठन गरी मतगणना कार्य अघि बढाइरहेको आयोगले जनाएको छ ।
एकाध ठाउँमा मतगणना अवरुद्ध भएकोमा मतगणना कार्य सुचारु गर्नका लागि सर्वदलीय सहमतिको प्रयास भइरहेको समेत आयोगले जनाएको छ ।
सप्तरी जिल्लाको राजविराज नगरपालिकाको वडा नंं १५ मा राजपाका वडाध्यक्षका उम्मे्दवारको निधन भई स्थगित भएको निर्वाचन भोलि असोज ५ गते मतदान हुने कार्यक्रम रहेको आयोगले जनाएको छ ।