
कांग्रेस केन्द्रीय सदस्य एवं अर्थविद् डा. गोविन्दराज पोखरेलले अर्थतन्त्रबारे डरलाग्दो चित्र प्रस्तुत गरेका छन् । केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षसमेत रहेका पोखरेलले देशको अर्थतन्त्र बिरामी भएको बताएका हुन् ।
के भने उनले केन्द्रीय समितिको बैठकमा ?
यतिखेर देशको अर्थतन्त्र बिरामी छ । द्वन्द्वले गरिखाने माहोल नहुँदा विदेश गएकोको रेमिटेन्सले गर्दा बाह्य अर्थतन्त्र राम्रो देखिएको छ । तर आन्तरिक अवस्था तहसनहस छ । अवस्था निराशाजनक छ । प्रत्येक दिन साना ठूला एक जना व्यवसायीले आत्महत्या गरेका छन् । गरिखाने वर्गमा दिनको एक जनाले आत्महत्या गर्नु डरलाग्दो हो ।
बैंकमा ५ खर्ब रुपैयाँ थन्किएको छ । जुन सरकारले राम्रो नीति नबनाउँदाको परिणाम हो । तर यो पैसा उद्यमी गर्नेले पाएका छैनन् ।
'नाडा अटो शो'मा सबैले कार मात्रै किनेका छन् । स्कुटर बाइक किनिएको छैन । किनकि सहकारीले लोन दिन बन्द गर्दा मध्यम वर्गले किन्न नपाएका हुन् । ६० देखि ७० प्रतिशत रोजगारी दिने मझोला क्षेत्र तहसनहस छ । देशभर ३५ प्रतिशत सटर बन्द भएका छन् । दशैंको मुखमा बजार सुनसान छन् ।
सरकारको ढुकुटीमा साढे दुई खर्ब थन्किएको छ । तर अर्थतन्त्री राष्ट्र बैंकको मौद्रिक नीतिले गर्दा अर्थतन्त्र बिग्रियो भनिरहनुभएको छ । गभर्नर सरकारको आर्थिक नीतिले गर्दा अर्थतन्त्रको हालय यस्तो अवस्थामा आयो भनिरहनुभएको छ । सरकारको संवेदनशील तहमा बस्नेले अनुत्तरदायी भएर यसरी पब्लिकमा गएर बोल्न मिल्छ ?
शेयर बजारसहितमा निराशा छ । कांग्रेसको अर्थमन्त्री हुँदा सेयर बजार उकालो लाग्थ्यो ।
तर अहिले ओरालो लागेको छ । किनकि कांग्रेसले कमाउँछ कम्युनिस्टले बाँड्छ भाष्य परिवर्तन भएको छ ।
हामीले अर्थतन्त्रमा अस्थिरता ल्यायौं । छोटो समयमा छिटो छिटो तीन चोटी अर्थसचिव परिवर्तन गर्यौं । विभागीय प्रमुख पनि परिवर्तन भएका छौं । यसले राम्रो सन्देश दिइरहेको छैन । यस्तो हुँदा सरकारले लिएको सवा चौध खर्ब राजस्वको लक्ष्य पूरा हुँदैन ।
प्रदेशमा मन्त्रालय फुटाएर मन्त्री थप्ने काम हाम्रै मुख्यमन्त्रीले गरिरहेका छन् । राष्ट्रको सार्वजनिक ऋण बढिरहेको छ । सार्वजनिक ऋण केपी ओलीको पालाबाट बढेर २४ खर्ब पुग्न लागिसक्यो । तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था छ । यतातिर ध्यान नदिए । भोलि कांग्रेसले एकलौटी सरकार बनाउँदा देश कसरी चलाउँछ ? यसैले फजुल खर्च रोक्ने तिर पनि सोचौं ।