
नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले नवलपरासीमा पार्टीको जिल्ला कार्यसमिति नै घण्टी (राष्ट्रिय स्वतन्त्र पार्टी)को कब्जामा गएको बताएका छन् । जिल्लामा गुटबन्दीका नाममा गलत अभ्यास गर्दै अर्को दल घण्टीको कब्जामा पुर्याइएको उनले बताएका हुन् ।
‘जिल्ला कार्यसमिति पूरै घण्टीको कब्जामा गएको छ । जिल्ला कार्यसमितिलाई विघटन गर्नुस् । होइन भने बिस्तारै–बिस्तारै घण्टीलाई पार्टी बुझाइदिऊँ । नभए घण्टी लिएर त्रिवेणी मेला र घाटमा गएर बस्नुपर्नेछ,’ कँडेलले भने, ‘विनोद चोधरीलाई कसरी हराउने र कांग्रेसलाई कसरी ध्वस्त बनाउने भन्नेमात्रै छ । एउटा कमिटी बनाएर जसले गलत गरेको छ उसलाई कारबाही गरौं ।’
कँडेलको विघटन गर्न माग गरेको नवलपरासी जिल्लाको कार्यसमिति हो । १४ औं महाधिवेशनमा नवलपरासीबाट संस्थापन इतरका अर्जुनकुमार पोखरेल विजयी भएका थिए ।
गुटको नाममा आश्रय नदिन उनले स्वतन्त्र छानबिन समिति बनाउन माग गरेका छन् ।
‘मसँग प्रणाम छ घण्टीको प्रचार गर्दै हिँडेको । पार्टीमा दण्ड र पुरस्कारको व्यवस्था होस्,' उनले भने, ‘गलत भए दण्डित गरौं । राम्रो गरे पुरस्कार गरौं । आइतवार जिल्लाबाट डेलिगेसन आउँदैछ, अब हामी चुप लाग्दैर्नौं ।’
फरक समूहकै भएका आधारमा आफूहरूले अनेक अपशब्द सामना गर्नुपरेको भन्दै उनले पटकपटक नेताहरूलाई आग्रह गर्दा पनि नमानेको गुनासो गरे ।
कँडेलले धेरै नै आलोचना गर्न थालेपछि सभापति शेरबहादर देउवाले अब भइहाल्यो अरुलाई कुरा राख्न दिनुस् भन्दै थामथुम पार्न खोजेका थिए ।