
चीनका राष्ट्रपति सी चिनफिङले खेलकुदको माध्यमबाट शान्ति र एकता प्रवर्द्धन गर्न आह्वान गरेका छन् । चीनको हाङझाउमा आयोजित १९औँ एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहअघि शनिबार आयोजित स्वागत समारोहमा चिनियाँ राष्ट्रपतिले खेलकुदमार्फत् शान्ति, एकता र समावेशीता प्रवर्द्धन गर्न आह्वान गरेका हुन्।
राष्ट्रसित सीले साझा भविष्य भएका समुदायको सदस्यका रूपमा एसियाली राष्ट्रहरूले असल छिमेकी र पारस्परिक हितलाई प्रवर्द्धन गर्दै शीतयुद्धको मानसिकता त्यागेर विश्व शान्तिका निम्ति योगदान गर्नुपर्नेमा जोड दिए ।
विश्वव्यापी रूपमा मानवजातिले अकल्पनीय चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सीले एसियाली जनताले ती चुनौतीहरूलाई पनि ऐतिहासिक अवसरका रूपमा लिएर एकजुट भई सामना गर्नुपर्ने बताए । उनले साझा विकास, खुलापन र एकताको बाटोमा अघि बढ्नुको विकल्प नभएको उल्लेख गरे ।
'एसियाली खेलकुदले एकअर्कालाई सांस्कृतिक रूपमासमेत समीप ल्याउँछ र एकअर्कालाई समृद्ध बनाउँछ । एसियाली संस्कृतिबाट एकअर्कालाई सिक्न, बुझ्न र एसियाली सभ्यता अनुभूत गर्न मद्दत पुग्नेछ,' उनले भने, 'खेलकुदको माध्यमबाट समावेशीता प्रवर्द्धन हुने तथा आपसी विश्वास वृद्धि हुनेछ ।'
असोज २१ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा अफगानिस्तान, बहराइन, बङ्गलादेश, भूटान, ब्रुनाइ, क्याम्बोडिया, चीन, चाइनिज ताइपेई, हङकङ, भारत, इण्डोनेशिया, इरान, इराक, जापान, जोर्डन, कजाकस्तान, कुवेत, किर्गिस्तान, लाओस, लेबनान, मकाउ, मलेसिया, मालदिभ्स, मङ्गोलिया, म्यान्मा, नेपालसहित ४५ देशले विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
त्यसैगरी प्रतियोगितामा उत्तर कोरिया, ओमान, पाकिस्तान, प्यालेष्टाइन, फिलिपिन्स, कतार, साउदी अरब, सिङ्गापुर, दक्षिण कोरिया, श्रीलङ्का, सिरिया, ताजकिस्तान, थाइल्याण्ड, टिमोर लेत्से, तुर्कमेनिस्तान, संयुक्त अरब इमिरेट्स, उज्वेकिस्तान, भियतनाम र यमनका खेलाडी सहभागी छन् ।
४८ देश भएको एशिया महादेशका चार मुलुक युक्रेन, रुस, बेलारुस र इजरायल उक्त प्रतियोगितामा सहभागी छैनन् । अन्तरराष्ट्रिय ओलम्पिकक कमिटी (आइओसी)ले युक्रेनमा रुसले आक्रमण गरेकाले मस्कोविरुद्ध प्रतिबन्ध लगाएको छ भने रुसको सहयोगी बेलारुसलाई पनि युक्रेन युद्धमा सघाएकाले आइओसीले प्रतिबन्ध लगाएको हो ।
धेरै अरब मुलुक प्रतियोगितमा सहभागी भएकाले विगतदेखि नै इजरायल एसियाली खेलकुद प्रतियोगिताबाट बाहिर रहँदै आएको छ ।