२२ जेठ २०८३, शुक्रबार

धार्मिक सद्‌भाव बिग्रने खतरा बढ्यो, सतर्क हुनुपर्छ : राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

असोज ६, २०८०
बुटवल
धार्मिक सद्‌भाव बिग्रने खतरा बढ्यो, सतर्क हुनुपर्छ : राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

​​​​राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशमा जातीय र धार्मिक सद्‌भाव खल्बलाउने संकेत देखा पर्न थालेको बताएका छन् ।

धार्मिक सहिष्णुता बिग्रने गरी देशका केही स्थानमा संकेतहरू देखा पर्न थाल्नु गम्भीर विषय भएको भन्दै सबै धर्म मिलेर सद्‌भाव कायम राख्नु पर्नेमा उनले जोड दिए ।

नवलपरासीमा रहेको मुस्लिम संगठन ‘ओल्मा काउन्सिल नेपाल’ ले शनिवार परासीमा आयोजना गरेको संयुक्त धर्म सम्मेलनलाई सम्बोधन गर्दै उनले कोशी प्रदेशबाट देखिएको जातीय र धार्मिक विभेदको बाछिटा अन्य जिल्लामा पनि पर्न गएकोले यसलाई रोक्नका लागि सबै धर्महरू लाग्नु पर्नेमा जोड दिए ।​

पछिल्लोपटक धार्मिक सद्‌भाव बिग्रने संकेत बढ्दै गएपछि ओल्मा काउन्सिलले नवलपरासीका सबै धार्मिक संगठनहरूको सहभागितामा सम्मेलन गरेको हो ।

सम्मेलनमा बोल्दै राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले भने, ‘कोशी प्रदेशबाट देखिएको धार्मिक र जातीय विभेदको संकेत केही मन्थर भएको छ ।

त्यसलाई अन्यत्र फैलिन नदिन यस्ता कार्यक्रमहरू देशभरि नै गर्नुपर्छ । नवलपरासीबाट शुरूवात भएको संयुक्त धर्म सम्मेलन अब कोशी प्रदेशमा पनि गर्न जरुरी छ ।’

देशभरि नै शान्ति, एकता र धार्मिक सद्‌भावको सन्देश दिन धार्मिक संस्थाहरू लाग्नु पर्ने उनको भनाइ छ ।

धार्मिक सहिष्णुता र एकताका बारेमा नेपालबाट दुनियाँले सिक्नुपर्ने बताउँदै उनले सबै धर्मको आस्थाअनुसार हिँड्नका लागि देशलाई धर्म निरपेक्षता घोषणा गरिएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्