
सौराहका पर्यटन व्यवसायीका लागि असोज ‘सिजन’को महिना हो । अर्थात् पर्यटकको चहलपहल र आर्थिक गतिविधि बढ्ने समय हो ।
विगतका वर्षमा पर्यटकलाई सेवा दिन भ्याइनभ्याइ हुने यहाँका पर्यटन व्यवसायीहरू यस वर्ष भने असोज लागेदेखि पर्यटकको पर्खाइमा छन् ।
पर्यटकीय गन्तव्य सौराहसम्म आइपुग्ने सडक मार्ग सहज नहुनु तथा हवाई भाडा महङ्गो भएकाले पर्यटकको सङ्ख्यामा यस वर्ष कमी आएको व्यवसायीहरूको भनाइ छ ।
लामो समयदेखि नारायणगढ–मुग्लिन, मुग्लिन–नौबीसे र नारायणगढ–बुटवल सडक खण्डमा मर्मत तथा विस्तारले यातायात असहज बनेको छ । पोखराबाट आउनेका लागि मुग्लिन–पोखरा खण्ड पनि विस्तारले अवरुद्ध भइरहेको छ ।
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीका अनुसार सौराहाका होटलमा यतिबेला जम्मा पाँच प्रतिशत हाराहारी बुकिङ छ ।
जबकी विगतका वर्षमा यतिबेला ३५ प्रतिशतभन्दा बढी बुकिङ हुने गरेको थियो । सडकको दयनीय अवस्था, महङ्गो हवाई भाडालगायतले पर्यटकको सङ्ख्या कम भएको उनको बुझाइ छ ।
उनका अनुसार एउटा विदेशी पर्यटक काठमाडौंबाट भरतपुर आउँदा एक सय ३५ डलर हवाई भाडा लाग्छ । आवतजावत भाडा मात्रै दुई सय ७० डलर खर्च हुन्छ । निकुञ्जमा जीप तथा हात्ती सफारी, पैदल यात्रा गर्दा खर्च स्वभाविक रुपमा बढ्छ । विदेशका लागि निकुञ्ज प्रवेशमा रु दुई हजार खर्च हुन्छ भने हात्ती सफारीका लागि दुई हजार पाँच सय, जीप सफारीका लागि रु दुई हजार खर्च लाग्छ ।
सङ्घका निवर्तमान अध्यक्ष दीपक भट्टराईले पर्यटक आकर्षित गर्नका लागि सङ्घले चितवन पर्यटन महोत्सव गर्ने तयारी गरिरहेको बताए ।
विगतका वर्षमा हुने हात्ती महोत्सवलाई पर्यटन महोत्सवका रुपमा गर्न लागिएको उनको भनाइ छ ।