
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले कोशी ग्यास उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।
ग्यास नभएको सिलिन्डरलाई सिल गरेर बिक्री वितरणका लागि बजारमा पठाएको पाइएपछि जरिवाना गरिएको कार्यालयले जनाएको छ ।
खरिद गरेको ग्यास घर लगेर बाल्दा नबलेपछि विराटनगरकी अन्जना सिंहले उपभोक्ता संरक्षण कार्यालयमा खबर गरेकी थिइन् ।
सिलिन्डरमा ग्यास नभएको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख हितेश बस्नेतसहितको टोलीले उद्योगमा आइतवार अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा उद्योगले गल्ती गरेको पुष्टि भएपछि २ लाख रुपैयाँ जरिवाना गरिएको बस्नेतले बताए । ‘भरिएको सिलिन्डरमा १४ केजी २ सय ग्राम ग्यास हुनुपर्छ’ उनले भने, ‘तर तौलका क्रममा १५ केजी ४ सय ग्राम सिलिन्डरको मात्रै तौल भएको भेटिएको थियो ।’
यता कोशी ग्यास उद्योगका प्रबन्धक सचितकुमार उपाध्यायले उपभोक्तालाई तौलेर मात्र ग्यास लैजान आग्रह गरेका छन् ।
उद्योगले अहिले दैनिक ७ देखि ८ हजार कोशी ग्यासको सिलिन्डर उत्पादन गरिरहेको छ ।
देशभरिमा ३ सय ९६ वटा डिलर रहेको उद्योगका विराटनगरमा मात्र ३२ वटा डिलरमार्फत ग्यास उपभोक्तामा घरमा पुग्ने गरेको छ ।