काठमाडौँ, ५ असोज - महानगरीय प्रहरी कार्यालयले उपत्यकाको शान्तिसुरक्षा चुस्त र प्रभावकारी बनाउन शङ्कास्पद गतिविधिको सम्बन्धमा सूचना पाएको पाँच मिनेटभित्र प्रहरी सेवा पुग्ने गरी सुरक्षाव्यवस्था मिलाएको छ ।

महान् चाड दसैँ, तिहार र छठलाई लक्षित गरी एक महिना लामो सुरक्षा योजना बुधबार सार्वजनिक गर्दै महानगरीय प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (डीआईजी) जयबहादुर चन्दले सूचना आएको पाँच मिनेटभित्र प्रहरीसेवा उपलब्ध हुने बताए ।
त्यस्तो सेवा लिनका लागि उपत्यकावासीले तत्काल प्रहरी कन्ट्रोल–१०० मा फोन गर्नुपर्नेछ । महानगरीय प्रमुख चन्दले भने , “दशैं, तिहार र छठका अवसरमा हुनसक्ने सम्भावित घटना तथा दुर्घटना हुन नदिन ठूलो सङ्ख्यामा सादा पोसाकका प्रहरी परिचालन गरेका छौँ । ”
अपराध भइहाले पनि त्यसको सूचना तत्काल नजिकको प्रहरी कार्यालय तथा प्रहरी कन्ट्रोलमा गरिदिए प्रहरीलाई अपराध नियन्त्रण गर्न ठूलो सहयोग पुग्ने अपेक्षा उहाँले व्यक्त गर्नुभयो । चाडबाड मनाउन गृहजिल्ला फर्किनेहरूलाई घर–कोठा सुरक्षित ढङ्गले बन्द गर्नसमेत सुझाव दिए, गोरखापत्रमा खबर छ ।