
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूगोल, जनसङ्ख्या र बजेटका आधारमा योजना बनाउँदा मात्रै कार्यान्वयनमा सहजता आउने बताएका छन् । उनले भूगोलअनुसार, जनसङ्ख्याको अनुपात हेरेर मात्रै बजेट दिँदा योजना सफल भएको बताए ।
बागलुङ नगरपालिकाले आज आयोजना गरेको बागलुङ नगरपालिकाको विकास र भावी योजनाको विषयमा आयोजित नगरस्तरीय अन्तरक्रियामा अध्यक्ष तिमिल्सिनाले सङ्घीयता व्यवहारमा कार्यान्वयन आए पनि योजना निर्माणमा सङ्घीय सरकारको अंकुश अझै कायम रहेको बताए ।
उनले भूगोल, जनसङ्ख्या र बजेटका आधारमा योजना बनाउँदा मात्रै उक्त योजना सफल हुने भन्दै टुक्रे बजेटमा सङ्घीय सरकारको ध्यान दिएको बताए । उनले एउटै प्रकृतिका सङ्घ र प्रदेशका दुई वटा कार्यालय जिल्लामा आवश्यक नरहेको बताए । उनले बजेटको सीमा तोकेर कार्यान्वयन गर्न सकेमा मात्रै योजना सफल हुने र सङ्घीयता व्यवहारमा कार्यान्वयन हुने बताए ।
“कम्तीमा ५० करोड माथिको योजना सङ्घका, १० करोड माथिका योजना मात्रै प्रदेशले हेर्ने हो भने स्थानीय तहमा साना योजना र धेरै बजेट आउँछ, काम गर्न सहज हुन्छ”, अध्यक्ष तिमिल्सिनाले भने, “ससाना बजेटमा सङ्घीय सरकारको ध्यान पुग्दा कार्यान्वयनमा समस्या सिर्जना भइरहेको पाइन्छ, कतिपय कानुन निर्माणको अभावमा स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन समस्या भइरहेको छ, सङ्घ सरकारसँग नबाझिने गरी कानुन निर्माण गरेर स्थानीय सरकार सबल बन्न सक्छ ।”
उनले बागलुङ र पर्वत जोड्ने लामा झोलुङ्गे पुलले बजारीकरण र पर्यटनमा टेवा पु¥याएकोे बताए ।