
चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच आज (सोमबार) बेइजिङमा द्विपक्षीय वार्ता हुँदै छ । वार्तामा नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) कार्यान्वयनसम्बन्धी सम्झौता, नेपाल–चीन सीमापार विद्युत् व्यापारलगायत विषयमा छलफल गर्ने तयारी छ ।
हाङचउ सहरमा शनिबार चिनियाँ राष्ट्रपति सीसँगको बैठकपछि प्रधानमन्त्री दाहाल आइतबार बेइजिङ पुगेका थिए ।
चिनियाँ प्रधानमन्त्री लीले वार्तापछि नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवा भोज आयोजना गर्दै छन ।
राजधानी बेइजिङमा हुने भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले छोङछिङ्ग महानगरपालिकामा कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नेछन् ।
आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणाली बारेमा पनि जानकारी लिनेछन् ।
प्रधानमन्त्री दाहालले सोमबार नै बेइजिङस्थित नेसनल पिपल्स कंग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेट गर्ने कार्यक्रम छ। बेइजिङमा रहँदा प्रधानमन्त्रीले बेइजिङ रिसर्च इन्स्टिच्युट भ्रमण पनि गर्दै छन्।
राष्ट्रसंघीय महासभामा भाग लिएर अमेरिकाको न्युयोर्कबाट दाहाल १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन शनिबार हाङचउ पुगेका थिए । उद्घाटनको साइडलाइनमा प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता भएको थियो। उनी असोज १३ मा स्वदेश फर्कने कार्यक्रम छ ।