३० जेठ २०८३, शनिबार

चलचित्र ‘नाङ्गो गाउँ’को सिक्वेल बन्ने

असोज ८, २०८०
काठमाडौं
चलचित्र ‘नाङ्गो गाउँ’को सिक्वेल बन्ने

चलचित्र ‘नाङ्गो गाउँ’ले बक्स अफिसमा राम्रो व्यापार गरेपछि निर्माणपक्षले यसको सिक्वेलको निर्माण घोषणा गरेको छ । चलचित्रका निर्माता हिमाल कडरिया र लेखक तथा निर्देशक दीपेन्द्र लामाबीच सिक्वेल बनाउने विषयमा सहमति भएको हो । 

‘अ पोलिटिकल कमब्याक अर्थात् एक राजनीतिक पुनरागमन’ ट्याग लाइनसहित चलचित्र ‘नाङ्गो गाउँ २’ निर्माणको घोषणा गरिएको हो । चलचित्रको सिक्वेलमा दयाहाङ राईले निर्वाह गरेको पात्र ‘पासाङ’ केही समयपछि गाउँ फर्किने कथालाई समावेश गरिनेछ । 

‘धेरै दर्शकले नायकको हार र पलायनमा दुःख व्यक्त गरेको पायौँ, उहाँहरूले दोस्रो भाग चाहियो पनि भन्नुभएको छ,’ निर्माता कडरियाले भने, ‘हामीले पहिलो भागको छायांकनको दौरानमै दोस्रो भागको परिकल्पना गरेका थियौँ । अहिले सबैतिरबाट दोस्रो भागको माग आएकाले हामीले यसको योजनालाई अगाडि बढाउने निर्णयमा पुगेका हौँ ।’ 

चलचित्रका लेखकसमेत रहेका निर्देशक लामाले दोस्रो भागको कथा पहिल्यै लेखिसकेका छन् । उनले भने, ‘अहिले चलचित्रको कथा जहाँ टुंगिन्छ, त्यो वास्तवमा मध्यान्तर थियो । पटकथामा परिणत गर्दै जाँदा कथा लामो हुनपुग्यो र हामीले दुई भागमै बनाउने सोच्यौँ ।’ 

दोस्रो भागको कथामा के हुन्छ त ? भन्ने प्रश्नमा निर्देशक लामाले भने–‘गाउँमा जरीको आतंकबाट गाउँलेहरू वाक्क हुन्छन् । र, जरीबाट पीडित गाउँलेहरू काठमाडौं गएर पासाङलाई गाउँ फर्काउँछन् । पासाङ गाउँ फर्केर जरीका खराब गतिविधिलाई रोक्ने संघर्षमा होमिन्छ ।’ 

निर्माता कडरियाका अनुसार ‘नाङ्गो गाउँ–२’को छायांकन एक वर्षपछि मात्र हुनेछ । त्यसअघि उनले निर्देशक लामालाई नै लिएर अर्को कमेडी चलचित्र बनाउने तयारी गरेका छन् । ‘चलचित्र ‘नाङ्गो गाउँ’बाट म सन्तुष्ट छु, त्यही भएर मैले दीपेन्द्रजीसँगको सहकार्यलाई निरन्तरता दिन लागेको हुँ,’ निर्माता कडरियाले भने । 

तिहारपछि छायांकनमा जाने नाम जुराउन बाँकी उक्त कमेडी चलचित्र दीपेन्द्र लामाकै लेखन रहनेछ । यसमा ‘नाङ्गो गाउँ’कै टिम दोहोरिने सम्भावना छ । चलचित्रको कलाकार र प्राविधिक टिमको बारेमा केही दिनपछि जानकारी दिने निर्माण टोलीको तयारी छ । निर्देशक लामाले भने–‘यो मेरो पहिलो पूर्ण रुपमा कमेडी समावेश गरिएको चलचित्र हुनेछ । यसपटक दर्शकलाई दुई घन्टा लगातार हँसाउनु मेरो लक्ष्य रहनेछ ।’

salt training

कमेन्ट गर्नुहोस्