
असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतीक्षित चलचित्र ‘परदेशी २’ले यतिबेला प्रचारप्रसारलाई तीव्र बनाएको छ ।
देशका विभिन्न मुख्य सहरमा प्रचार गरिरहेको चलचित्रका कलाकार तथा निर्देशक दुई दिनदेखि नेपालगञ्जमा छन् ।
निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीसहित चलचित्रको टिम शनिवार नेपालगञ्ज पुगेर त्यहाँका चलचित्र हलहरु भिजिट गरेको थियो । टिमले आइतवार ‘चलचित्र पत्रकार संघ नेपाल बाँके’ शाखासँग साक्षात्कार गरेको थियो । त्यसक्रममा बोल्दै अभिनेता प्रकाशले ‘परदेशी २’ आफ्नो पहिलो चलचित्र भएका कारण एकदमै उत्साहित रहेको बताए ।
चलचित्रमा अभिनय गर्ने तयारी हुँदै गर्दा आफूमा जुन उत्साह थियो, अहिले पनि त्यही उत्साह रहेको उनले बताए । ‘जब मैले यो चलचित्र गर्ने निर्णय गरेको थिएँ, त्यति बेला अहिलेको जस्तो चर्चा–परिचर्चा थिएन’ साक्षात्कारमा प्रकाशले भने, ‘त्यो सुरुवातमा चलचित्र गर्दैछु भन्ने कुरामा ममा जुन उत्साह थियो, त्यो उत्साह अहिले पनि उस्तै छ । अहिले पनि म त्यही जोनमा छु ।’ पहिलो चलचित्र भएकोले उत्साहसँगै थोरै डर पनि भएको प्रकाशले सुनाए ।
अभिनेत्री केकीले ‘परदेशी- २’को कथा सबै नेपालीको कथा भएको बताइन् । मौलिक कथामा अभिनय गर्ने रहर ‘परदेशी २’ले पूरा गरेको उनको भनाइ थियो । ‘यो चलचित्रले मेरो मेरो मौलिक कथामा काम गर्ने रहर पूरा गरिदियो । परदेशी २ हामी सबैको कथा समेटिएको चलचित्र हो । त्यसैले पनि यो चलचित्रबाट निकै उत्साहित छु’ केकीले भनिन् ‘प्रकाश सपूतजिको पहिलो चलचित्र हो यो । उहाँसँग काम गर्न पाउँदा पनि खुशी छु । नारायण रायमाझी सरका अन्य चलचित्रहरू दर्शक बनेर हेर्ने गर्थेँ तर अहिले कलाकार बनेर काम गर्ने अवसर मिल्यो ।’

चलचित्रले हाम्रो समाजको कथा उठान गरेकोले दर्शकले रुचाउनेमा आशावादी रहेको निर्देशक नारायण रायमाझीले बताए । ‘नेपालगन्जमा मेरा अघिल्ला चलचित्रहरू राम्रो चलेका थिए’, उनले भने, ‘अहिलेको चलचित्रलाई पनि नेपालगन्जसँगै देशभर दर्शकको साथ मिल्ने अपेक्षा गरेको छु ।’
‘परदेशी २’को सार भनेको संसार घुमेपनि आफ्नो मातृभूमि र आमाबुबालाई भुल्नु हुँदैन भन्ने रहेको उनले बताए । उनले भने, ‘मेरा कथाहरूमा समाजको यथार्थता उतार्ने कोसिस गरेको हुन्छु । यो चलचित्रमा पनि हाम्रै कथा उठान गरिएको छ ।’
चलचित्रको टिमले आइतबार नै नेपालगन्जका जिभिएन र युनाइटेड कलेजमा पुगेर समेत ड्रामा प्रस्तुत गर्दै विद्यार्थीहरूसँग साक्षात्कार गरेको थियो । पर्दामा देख्ने प्रकाश सपूत र केकी अधिकारीलाई आँखै अगाडि देख्न पाउँदा विद्यार्थीहरू निकै खुशी भएका थिए । निर्देशक रायमाझीका अनुसार सोमबार कोहलपुरका केही कलेजमा साक्षात्कार गरेपछि चलचित्रको टिम बुटवल फर्किने योजना छ । मंगलवार र बुधवार चलचित्रको टिम बुटवलमा रहनेछ । बुटवलपछि पोखरा पुगेर प्रमोसन गरेपछि चलचित्रको टिम काठमाडौं फर्किनेछ ।
राजेश वंशल (अग्रवाल) र नारायण रायमाझीको निर्माण रहेको यो चलचित्रमा प्रकाश र केकीका साथमा वर्षा शिवाकोटी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ ।
मानकृष्ण महर्जनको छायांकन, बि.बि अनुरागी र नारायण रायमाझीको संगीत, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, श्यामश्वेत रसाईलीको साउण्ड डिजाइन र मिक्सिङ रहेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।
‘परदेशी’ प्रदर्शनमा आएको ८ वर्षपछि ‘परदेशी २’ दर्शकमाझ आउन लागेको हो ।