०९ साउन २०८३, शनिबार
गाउँ फर्किएनन् माओवादी नेता

माओवादी रूपान्तरण अभियानः नेताहरू गाउँ नजाँदा कोशीमा छैन माहोल, कार्यकर्ता रनभुल्ल

असोज ८, २०८०
काठमाडौं
माओवादी रूपान्तरण अभियानः नेताहरू गाउँ नजाँदा कोशीमा छैन माहोल, कार्यकर्ता रनभुल्ल
अभियानका क्रममा कार्यकर्ता

नेकपा (माओवादी केन्द्र)को तीन महिने रूपान्तरण अभियान जारी रहे पनि कोशी प्रदेशमा त्यसअनुसारको राजनीतिक गतिविधि र उत्साह देखिएको छैन ।

अभियान उद्घाटनको झण्डै एक महिना बित्न लागे पनि नेताहरू गाउँ–गाउँमा पुगेका छैनन् ।

जनतासँग सबन्ध सुधार गर्ने भन्दै माओवादीले भदौ १६ गते (शनिवार)देखि तीन महिने अभियान शुरू गरेको थियो । प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभियान उद्घाटन गरेका थिए ।

‘प्रचण्ड’का ज्वाइँ जीवन आचार्य पार्टीका केन्द्रीय सदस्य हुन् । उनी सुनसरीको इनरुवा र रामधुनी नगरपालिकामा खटिएका थिए । उद्घाटनका दिन त्यहाँ पुगेका उनी त्यसयता पुगेका छैनन् ।

‘प्रदेशमा देखिएको अस्थिरता अन्त्य गर्ने भन्दै उहाँ काठमाडौंतिर धाइरहनुभएको छ,’ माओवादीका एक केन्द्रीय सदस्यले आक्रोशित हुँदै भने, ‘अब बन्ने सरकारमा मन्त्रीका लागि ससुरा र श्रीमतीलाई फकाउँदै हुनुहुन्छ होला । उहाँको दाउ त मुख्यमन्त्री नै पड्काऊँ भन्ने नै छ क्यारे ।’

यस्तै पूर्व सभामुख एवं निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री बाबुराम गौतम पनि पार्टीले खटाएको कार्यक्षेत्रमा गएका छैनन् । उनको कार्यक्षेत्र मोरङको उर्लाबारी हो ।

सभामुखबाट राजीनामा दिएर मन्त्री बनेका गौतमले एक महिना पनि मन्त्रालय सम्हाल्न पाएनन् । मन्त्री पद गुमेपछि उनी पनि बिरक्तिएर काठमाडौंतिर लागेका छन् ।

गत चुनावमा प्रदेशसभामा नेकपा एमालेले टिकट नदिएपछि माओवादी केन्द्रमा प्रवेश गरेका इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी पनि अभियानमा खटिएका छैनन् ।

उनी उद्घाटनमा समेत गएनन् । अभियान चलिरहँदा चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको फोटो सार्वजनिक गरेका छन्, साथै अध्यक्ष कमरेडसँग भेट भनेर लेखेका छन् ।

केन्द्रीय सदस्य किरण राई मोरङकै मिक्लाजुङमा खटिएका थिए । उनी पनि फिल्डमा गएका थिएनन् । भाइ बिरामी भएका कारण किरण फिल्डमा नआएको प्रदेश कमिटीका अध्यक्ष हर्क बेमनाङ (मिक्सो)ले बताए । 

सांसदहरूले पार्टी कामलाई बेवास्ता गरेको आरोप अन्य नेताहरूले लगाएका छन् ।

प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङ पनि फिल्डमा छैनन् । उनी बिरामी भएका कारण अभियानमा नखटिएको निकटस्थहरू बताउँछन् ।

प्रतिनिधिसभा सदस्य दुर्गा राई पनि अभियानको मिति घोषणा गरेपछि पार्टीको काममा नजोडिएको नेताहरू बताउँछन् । उनलाई खोटाङमा खटिने जिम्मेवारी छ ।

राई समानुपातिक सांसद हुन् । सांसद हुनुभन्दा अगाडि पनि पार्टी काममा सक्रिय नरहेको भन्दै विरोध भएको थियो ।

शान्ति सम्झौतापछि माओवादी लगातार सरकारमा गएको र जनताबीच नआएको गुनासो बढेपछि अभियान घोषणा गरेको माओवादी केन्द्र कोशी प्रदेशका इन्चार्ज चक्रपाणि खनाल (बलदेव)ले बताए । 

‘हामी शान्ति सम्झौतापछाडि रूखको टुप्पोमा बस्यौं,’ खनालले भने, ‘रूखका हाँगाहरू भाँचिन थाले । अहिले हामी जरादेखि नै पानी हालेर गोडमेल गर्नुपर्छ भनेर जनताको घरदैलोमै आएका छौं ।’

एक घर पनि नछाड्ने भनेर माओवादीले अभियान थालेको महिना दिन बित्न लाग्दा उद्घाटनपछि खासै माहोल नजुरमुराएको माओवादीकै नेताहरू बताउँछन् ।

केन्द्रले खटाएका २० प्रतिशत नेताहरू फिल्डमा नआएको प्रदेश कमिटीका अध्यक्ष मिक्सोले बताए ।

salt training

कमेन्ट गर्नुहोस्