
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा प्रस्थान गर्दै छन् ।गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड आज बिहान चीनको छिङछोङ सहरबाट ल्हासाका लागि त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । स्थानीय समयअनुसार दिउँसो १२:०५ मा ल्हासाको गोन्गार विमानस्थल पुग्ने कार्यक्रम छ ।
प्रधानमन्त्री दाहाल ल्हासास्थित नेपाल महावाणिज्यदूतको कार्यालयमा आज दिउँसो आयोजना हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन् । प्रधानमन्त्री दाहालले आजै तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
उनले आजै यहाँको चिनियाँ कम्युनिष्ट पार्टीको सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।
यसअघि प्रधानमन्त्री दाहाल हिजो बेइजिङबाट छिङछोङ सहर आइपुगेका थिए ।