२७ जेठ २०८३, बुधबार
कोशीमा मन्त्रिमण्डल विस्तार

एमाले प्रदेश अधिवेशनको मुखमा असन्तुष्टलाई 'मन्त्री उपहार': पार्टीभित्रै असन्तुष्टि, प्रभाव पार्न खोजेको आरोप

असोज १०, २०८०
विराटनगर
एमाले प्रदेश अधिवेशनको मुखमा असन्तुष्टलाई 'मन्त्री उपहार': पार्टीभित्रै असन्तुष्टि, प्रभाव पार्न खोजेको आरोप

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नेकपा एमालेको प्रदेश अधिवेशनमा प्रभाव पार्न मन्त्रिपरिषद् विस्तार गरेको आरोप लागेको छ । प्रदेश अधिवेशनको मुखमा मुख्यमन्त्री कार्कीले सोमबार मन्त्रिमण्डल विस्तार गरेका थिए । उनले अधिवेशनका प्रतिनिधिलाई प्रभावित पार्न मन्त्रिमण्डल विस्तार गरेको आरोप लागेको हो ।  कोशीमा यही असोज १२ र १३ गते एमालेको प्रदेश अधिवेशन हुँदैछ ।

अल्पमतको सरकारले विश्वासको मत नलिँदै हतार–हतार मन्त्री थपेर अधिवेशन प्रभावित गर्न खोजेको एमाले नेताहरूकै आरोप छ । ‘प्रदेश अधिवेशनको मुखमा मुख्यमन्त्री कार्कीले मन्त्रिमण्डल विस्तार गर्नु कपटपूर्ण छ’, एमाले कोशी प्रदेशका एक नेताले भने, ‘आफूसँग असन्तुष्टहरूलाई मन्त्री तक्मा दिने र अधिवेशनमा आफू अनुकूल उम्मेदवारका पक्षमा उपयोग गर्ने नीति देखियो । यो गलत छ ।’ 

एमाले प्रदेश अधिवेशनमा विनोद ढकाल, तुलसी न्यौपाने, घनश्याम खतिवडालगायत नेताहरू अध्यक्षका दाबेदार छन् । मुख्यमन्त्री कार्की प्रदेशमा विनोद ढकाललाई जसरी पनि रोक्न लागिपरेको एमाले नेताहरू बताउँछन् ।

‘विनोद ढकाललाई अध्यक्ष हुन नदिन कार्कीले प्रदेश सरकारको चरम दुरुपयोग गरिरहेका छन्’, एक नेताले भने, ‘यद्यपि यस्तो प्रयासले केही हुने सम्भावना छैन ।’ ढकाल निवर्तमान राष्ट्रपति विद्यादेवि भण्डारी निकट मानिन्छन् भने न्यौपाने र खतिवडा अध्यक्ष केपी शर्मा ओली निकटका हुन् । ‘मुख्यमन्त्रीसँग असन्तुष्ट रहेका प्रदेशसभा सदस्यहरूलाई अधिवेशनको मुखमा मन्त्री बनाइनु गलत नियत प्रेरित  छ,’ ती  नेताले लोकान्तरसँग भने  । 

मुख्यमन्त्री कार्कीले सोमबार २ मन्त्री र २ राज्यमन्त्री थपेका थिए ।  मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, कृषि तथा सहकारी मन्त्रालय भने आफैसँग राखेका छन् । 

भदौ २२ गते ताप्लेजुङका तिलकुमार मेन्याङ्बो ,खोटाङका पाँचकर्ण राई, झापाका एकराज कार्कीलाई मन्त्री बनाएका थिए भने भोजपुरकी सिर्जना राईलाई राज्यमन्त्री बनाएका थिए । 

मंगलबार सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी मोरङका लिलाबल्लभ अधिकारीलाई मन्त्री बनाएका छन् भने सुनसरीका  रामप्रसाद महतो धनकुटाका निरन राईलाई राज्यमन्त्री बनाएका हुन् ।
 
मोरङ विनोद ढकालको गृह जिल्ला हो । मोरङबाट छनोट भएका प्रतिनिधि ढकालको पक्षमा देखिएपछि १० बुँदे पक्षधरका अधिकारीलाई मुख्यमन्त्री कार्कीले मन्त्री बनाएको नेताहरूको आरोप छ । 

पटक पटक आश्वासन दिए पनि निरन राईलाई यसअघि मन्त्री नबनाएका कार्कीले राज्यमन्त्री मात्रै बनाएका छन् । 

कार्कीले कमला दर्नाललाई सचेतक बनाएका छन् । दर्नालका श्रीमान् अनुभूति बम नेपाली मुक्ति मोर्चाको केन्द्रीय नेता हुन् ।

संसदीय दलका उपनेतासमेत रहेका केन्द्रीय सदस्य राम राना मगरले भने दुई दुई पटक चुनाव जितेर आएका साथीहरूलाई मन्त्री बनाइएको बताए । ‘विभिन्न परिस्थिति आउँदा पनि उहाँहरूलाई राख्नै पर्ने हुन्थ्यो,’ उनले भने, ‘पार्टी भित्र विभिन्न जिम्मेवारी आउँछ ।  कहिलेकाहीँ जस्तो समयमा पनि दिनु पर्ने बाध्यता आइलाग्दो रहेछ ।’ 

एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सरकार विस्तार गर्दा पार्टीको अधिवेशनमा केही प्रभाव नपार्ने बताए । उनले असोज २ गते नै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरे पनि मुख्यमन्त्री काठमाडौँ जानु परेकाले सम्भव नभएको बताए ।  

१२/१३ सय प्रतिनिधिलाई ४ जना मन्त्री थप्दा केही असर नपर्ने उनको तर्क छ ।

salt training

कमेन्ट गर्नुहोस्