३१ असार २०८३, बुधबार

बाबुराम र हिसिलाले हेरे ‘नाङ्गो गाउँ’

असोज १०, २०८०
काठमाडौं
बाबुराम र हिसिलाले हेरे ‘नाङ्गो गाउँ’

दयाहाङ राई र मिरुना मगर स्टारर चलचित्र ‘नाङ्गो गाउँ’ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । भदौको २९ गतेबाट प्रदर्शनमा आएको चलचित्र हेर्नका लागि दोस्रो सातामा पनि हलमा दर्शकको चाप छ । 

यसैबीच, मंगलबार चलचित्र हेर्न पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र पूर्व मन्त्री हिसिला यमी काठमाडौंको सिभिल मलमा पुगेका छन् ।

चलचित्र हेरिसकेपछि हिसिला भावुक बनेकी थिइन् । चलचित्रको कथावस्तु र विशेषगरी क्लाइमेक्सले छोएपछि हिसिला भावुक बन्न पुगेकी थिइन् । 

हिसिला भावुक बनेपछि मिडियासँग कुरा गर्दै भट्टराईले भने–‘चलचित्रको कथावस्तु उत्कृष्ट छ । चलचित्रको अन्तिममा मुख्य पात्रले गाउँ छाडेको कुरा मलाई थोरै चित्त बुझेन । अरू, कुरामा त चलचित्रमा आलोचना गर्नुपर्ने ठाउँ छैन ।’

बाबुरामले चलचित्रका मुख्य पात्रले राजनीतिमा हार खाएपछि गाउँ छाडे पनि आफूले भने नछाड्ने बताए । उनले भने–‘मलाई गोरखा छाडेर छोरीलाई काठमाडौंमा उठायो भनेर पनि आरोप लगाइयो । तर, छोरी मानुषीलाई स्वतन्त्र युवाहरूले काठमाडौंमा उठाएका हुन् । म गाउँ छाडेर हिँड्नु हुँदैन भन्ने पक्षमा छु ।’

भट्टराईले अगाडि भने–‘चलचित्रले छोएपछि त मान्छेको आँखाबाट आँसु आउँछ नी । हिसिलाको आँखामा आँसु पनि त्यही भएर आएको हो । निर्देशक दीपेन्द्र लामा सधैं नै उत्कृष्ट चलचित्र बनाउनुहुन्छ ।’

यस्तै, पूर्व मन्त्री यमीले चलचित्र हेरेर सबै कुराले छोएको बताइन् । उनले, पनि बाबुरामले जस्तै मुख्य पात्रले गाउँ छाड्ने कुरामा असन्तुष्टि जनाइन् । 
हिमाल कडरियाको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा जय श्रेष्ठको लगानी छ । रामहरि श्रेष्ठ यो चलचित्रका कार्यकारी निर्माता हुन् । 

चलचित्रमा दयाहाङ र मिरुनाका साथमा शिशिर वाङ्देल, साम्राज्ञी राज्यलक्ष्मी शाह, रवीन्द्र झा लगायतका कलाकारको अभिनय छ । 

salt training

कमेन्ट गर्नुहोस्