२५ जेठ २०८३, सोमबार
अन्योलमा अरनिकोको जडिबुटी बसपार्क

पूर्व जाने यात्रुका लागि कोटेश्वर–जडिबुटीमा बन्यो बसपार्क, बालेनको बखेडाले सञ्चालन अनिश्चित [भिडियो]

असोज १०, २०८०
काठमाडौं

पूर्व अरनिको यातायात प्रा.लि.ले झन्डै १० करोड रुपैयाँ खर्चेर जडीबुटीमा निर्माण गरिरहेको सुविधासम्पन्न बसपार्क सञ्चालनमा नआउँदै अन्योलमा परेको छ ।

काठमाडौं महानगरपालिकाले सञ्चालन गर्न नदिने भनेर अड्डी कसेपछि निर्माणको अन्तिम चरणमा पुगेको बसपार्क सञ्चालन हुने/नहुने अन्योल उत्पन्न भएको हो ।

महानगरपालिकाले यात्रु चढाउन तथा ओराल्न गोंगबुस्थित बसपार्कमै पुग्नुपर्ने नियम बनाएपछि पूर्व अरनिको यातायातले निजी जग्गा भाडामा लिएर आफ्नै लगानीमा बसपार्क बनाएको हो ।

करीब १४ रोपनी जग्गा ५ वर्षका लागि लिजमा लिएर बसपार्क निर्माण गरिएको छ ।

null

निर्माणका लागि काठमाडौं महानगरपालिका वडा नम्बर ३२ देखि जिप्रका काठमाडौं र महानगरपालिका सबै निकायसँग अनुमति लिइएको दाबी प्रालिको छ ।

'हामीले वडा कार्यालयदेखि जिप्रका, महानगरपालिका सबै निकायमा दर्ता प्रक्रिया अगाडि बढाएर नै काम गरेका हौं, पूर्व अरनिको यातायात प्रालिका उपाध्यक्ष सुरेन्द्र बस्नेतले लोकान्तरसँग भने ।

'वडा नम्बर ३२ सँग अनुमति लिएरै यो बसपार्क निर्माण कार्य अगाडि बढेको हो,' उनले थपे ।

null

काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली तथा बीपी राजमार्ग हुँदै पूर्वीपहाड एवं तराईका जिल्लाबाट आउने यात्रुहरूलाई गोंगबु पुर्‍याएर झार्दा सास्ती हुने भएकाले आफ्नै लगानीमा बसपार्क निर्माण गरिएको दाबी अरनिको यातायातको छ ।

काठमाडौं महानगरपालिकाले एउटै महानगरभित्र २ बसपार्क चाहिँदैन भन्ने तर्क गरिरहेको उनले बताए ।

'महानगरपालिकाका यातायात विज्ञले महानगरपालिकाभित्र एउटा मात्र बसपार्क भए पुग्छ भन्ने धारणा व्यक्त गर्नुभएको छ, उक्त बसपार्कले मात्र यात्रुको चाप थेग्न सक्दैन भन्ने हाम्रो ठम्याइ हो,' पूर्व अरनिको यातायात प्रालिका उपाध्यक्ष सुरेन्द्र बस्नेतले भने ।

null

बसपार्क भत्काउने भन्ने कुरा समेत सुनेको भन्दै उनले त्यसो गर्न खोजे आफूहरू महानगरविरुद्ध आन्दोलनमा उत्रिने बताए । 'महानगरपालिकाले यस बसपार्क भत्काउने भन्ने सुन्नमा आएकाले 'जडिबुटी बसपार्क बचाऊ अभियान' अन्तर्गत धर्ना कार्यक्रम शुरू गरेका छौं,' बस्नेतले भने, 'भोलिका दिनमा बसपार्क सञ्चालन गर्न नदिए हामी महानगरविरोधी अभियानमा होमिन्छौं ।'

महानगरपालिकाले अनुमति दिए दशैंअगाडि नै बसपार्क सञ्चालनमा ल्याउने तयारी रहेको उनको भनाइ छ ।

पूर्व अरनिको यातायात प्रालिले बसपार्कमा नि:शुल्क शौचालय, व्यवस्थित रेस्टुरेन्ट, यात्रु प्रतिक्षालय, टिकट काउन्टरदेखि आफ्ना व्यवसायी तथा यातायात कर्मचारीका बच्चाहरूका लागि नि:शुल्क स्कूल बस समेत सञ्चालन गरेको छ ।

'हाम्रा व्यवसायीका बालबच्चा पनि शिक्षित हुनुपर्छ भन्ने उद्देश्यका साथ पूर्व अरनिको प्रालिले ४ वटा बस किनेर तीनकुनेमा रहेको कौटिल्य स्कूलसँग एग्रिमेन्ट गरी मजदूरका बच्चा समेत ओसारपसार गर्छ,' चालक रामशरण खड्काले लोकान्तरसँग भने ।

null

४ वटा बसले संस्थामा कार्यरत कर्मचारीका २५० जना बच्चालाई नि: शुल्क सेवा दिने गरेको छ।

'प्राइभेट सेक्टरले आफ्नै लगानीमा यसरी बसपार्क निर्माण गरिदिँदा राज्यले सम्मान गर्नुपर्ने ठाउँमा झन् गिद्देनजर लगाएको देख्दा महानगरप्रति घृणा जागेको छ,' खड्काले आक्रोशित हुँदै भने ।

अहिले उक्त बसपार्क बचाउन भन्दै पूर्व अरनिको यातायात प्रालिका कर्मचारीले धर्ना कार्यक्रम जारी राखेका छन् ।

null

स्रोतका अनुसार पूर्व अरनिको यातायात प्रालिले बनाएको यस बसपार्क सञ्चालन गर्न नदिनेमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहकै बढी चासो छ ।

उनकै समितिले गोंगबुबाहेक अर्को बसपार्क नचाहिने भनेर नीति बनाएको स्रोतको दाबी छ ।

यस विषयमा जिज्ञासा राख्दा काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले महानगरभित्र एउटा मात्र बसपार्क होस् भन्ने आफूहरूको नीति रहेको बताए ।

'काठमाडौं महानगरभित्र एउटा मात्र बसपार्क होस् भन्ने हाम्रो नीति नै हो,' मानन्धरले लोकान्तरसँग भने ।

नागरिकको सहजताका लागि अर्को बसपार्क बन्दा के फरक पर्छ त भन्ने प्रश्नमा उनले आफूसँग यस विषयमा थप जवाफ नरहेको बताए । 'यो हाम्रो नीति नै हो, मसँग धेरै एन्सर छैन,' मानन्धरले भने ।

भिडियो :

salt training

कमेन्ट गर्नुहोस्