२६ असार २०८३, शुक्रबार

बागलुङको नेपाल माविलाई दक्षिण कोरियाली सरकारको सहयोग

असोज १०, २०८०
काठमाडौं
बागलुङको नेपाल माविलाई दक्षिण कोरियाली सरकारको सहयोग

बागलुङको नेपाल माध्यमिक विद्यालयलाई दक्षिण कोरियाली सरकारले सहयोग गर्ने भएको छ ।

विद्यालयको स्तर उन्नतीका लागि नेपाल सरकार र दक्षिण कोरियाली प्रतिनिधि मण्डलबीच शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा एक सम्झौता भएको छ ।

गण्डकी प्रदेशअन्तर्गत बाग्लुङको ताराखोला गाउँपालिकामा वडा नम्बर ४ मा रहेको विद्यालयमा विज्ञान प्रविधिसम्बन्धी आईसीटी परियोजना सञ्चालन गर्नको लागि उक्त सम्झौता गरिएको हो ।

सम्झौतासँगै अब विद्यालयमा  अत्याधुनिक प्रविधि तथा हार्डवेयर प्रयोग गरी नमुना विद्यालय बनाइने छ ।

जसका लागि कोरियन समूहका प्रमुख, व्यवस्थापन, इन्जिनियरसहितको ५ जना र सम्बद्ध नेपालबाट ३ जनाको टोलीले नेपाल माध्यमिक विद्यालयमा २ पटक अनुगमन गरिसकेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवस खत्रीका अनुसार पहिलोपटक २०७९ साल मंसिरमा स्थलगत अनुगमन गरेको कोरियन टोलीले दोस्रोपटक २०८० साउनमा अनुगमन गरेको थियो ।

‘हामी बहुआयामिक ढंगले विद्यालयलाई नेपालकै नमुना शिक्षालय बनाउन चाहान्छौं, त्यसका लागि हामी आफैंले मात्रै केही गर्न सक्दैनौं,’ उनले भने, ‘विदेशको आधुनिक प्रविधि भित्र्याउनु हाम्रो चाहना मात्र नभई बाध्यता पनि हो । हामी अन्तर्राष्ट्रिय स्तरको प्रविधिमा अगाडि बढ्न चाहन्छौं ।’

संस्थानका प्रमुख आछुछीनाका अनुसार आगामी  कात्तिक/मंसिरमा परियोजनाको दोस्रो चरणको काम शुरू हुनेछ ।

यो वर्ष कक्षा कोठा व्यवस्थापन गरी  सम्पूर्ण प्रविधि सामग्री ल्याउने र जडान गरिनेछ । साथै अर्को वर्ष तालिमको व्यवस्था  गर्ने, त्यसको दुई वर्षमा विद्यालयमा मूल्याङ्कन गरिने बताइएको छ ।

यस परियोजनाले कोरिया र नेपालका शिक्षक शिक्षिकाहरूको बीचमा सञ्चार समन्वय आदान–प्रदानमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्