विश्वको सर्वोच्च शिखर सगरमाथा (आठ हजार आठ सय ४८.८६ मिटर) बाट प्याराग्लाइडिङ गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले सगरमाथाको आठ हजार मिटर माथिबाट प्याराग्लाइडिङ गरिने बताएका हुन्।
विश्व पर्यटन दिवसका अवसरमा ‘साथसाथै’ ले आयोजना गरेको पर्यटनसम्बन्धी राष्ट्रिय सम्मेलनका क्रममा गरिएको अन्तक्र्रिया कार्यक्रममा पर्यटनमन्त्री किरातीले पर्यटक आकर्षण गर्नका लागि सगरमाथाको आठ हजार मिटर माथिबाट प्याराग्लाइडिङ गराइने बताए ।
उनले भने, “हामीले पर्यटन प्रवर्द्धन गर्नुपर्छ भन्छौँ तर, यसका लागि कस्तो नीति बनाएका छौँ भन्ने कुरातिर ध्यान दिन सकेका छैनौँ । त्यसकारण हामीले पर्यटन आकर्षण गर्नका लागि विभिन्न योजना बनाइरहेका छौँ । जसअन्तर्गत सगरमाथाको आठ हजार मिटरमाथिको उचाइबाट डबल दस्तुर लिएर प्याराग्लाइडिङ गराउनका लागि नियमावली अन्तिम चरणमा छ । अब क्याबिनेटबाट पारित हुनेबित्तिकै लागू हुन्छ ।”
पर्यटनमन्त्री किरातीले नेपालको ऐन कानून र भएका पूर्वाधारको सदुपयोग र नयाँ पूर्वाधारको निर्माणलगायतका कुराहरूले चुनौती सिर्जना गरेको बताए ।
सरकार बदलिरहने प्रवृत्तिले गर्दा दीर्घकालीन योजनाका काम नहुँदा समस्या भएको उनले बताए । उनले अहिले ढिलो भए पनि आत्तिहाल्नुपर्ने स्थिति भने नभएको बताए ।