२४ असार २०८३, बुधबार
चार बुँदे सहमति

महानगरसँग सहमतिपछि अभियन्ता ईःद्वारा आन्दोलन फिर्ताको घोषणा

असोज १०, २०८०
काठमाडौं
महानगरसँग सहमतिपछि अभियन्ता ईःद्वारा आन्दोलन फिर्ताको घोषणा

काठमाडौँ महानगरपालिकासँग ४ बुँदे सहमतिपछि अभियन्ता ईः भनिने इशान श्रेष्ठले बुधबार रातिदेखि आफ्नो आन्दोलन फिर्ता लिएको घोषणा गरेका छन् । 

महानगरले सडक व्यापारीको अस्तित्व स्वीकार गरेको भन्दै उनले सहमतिपछि आन्दोलन फिर्ता लिएको जानकारी दिए । उनले महानगरपालिकाले यसअघि सिज गरेको सडक व्यापारीको सामान फिर्ता गर्ने र फुटपाथमा व्यापार गर्ने विषयमा समिति निर्माण गर्ने सहमति भएको बताए । उनले साताभित्र व्यापार गर्ने ठाउँ तय गरिसक्ने पनि बताए । 

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको कार्यालय अगाडि ईः र उनका साथीहरूले फुटपाथ व्यवसायीको पक्षमा उभिएर आन्दोलन गर्दै आएका थिए । यसरी आन्दोलन थालेको बुधबार ९ बजे १ सय ९९ घन्टा पुगेको थियो । 

सहमति पत्रमा के छ ?

सहमति पत्रको पहिलो बुँदामा आन्दोलन आजैका मितिदेखि स्थगित गर्ने उल्लेख छ । दोस्रो बुँदामा फुटपाथ तथा सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत गरिएका सामानहरू महानगरपालिकाको स्टोरमा भएसम्म यकिन गरी सम्बन्धित सामानका धनीलाई महानगरले फिर्ता गर्ने उल्लेख छ । 

यसैगरी तेस्रो बुँदामा अनौपचारिक क्षेत्रमार्फत हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउने विधि, प्रक्रिया तथा कानुनी व्यवस्था समेतको प्रबन्ध गर्नुपर्ने विषयमा ठोस सुझाव सहित अध्ययन गरी २ महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेस गर्न देहाय बमोजिमको समिति गठन गर्ने उल्लेख छ । समितिमा महानगरपालिकाले तोकेका ३ जना, ईः को तर्फबाट तोकिएका प्रतिनिधि २ जना, भौतिक तथा यातायात मन्त्रालयको प्रतिनिधि १ जना, सहरी विकास मन्त्रालयको प्रतिनिधि १ जना र  ट्राफिक प्रहरीको प्रतिनिधि १ जना रहने छन् । 

यस्तै चौथो बुँदामा साविकमा फुटपाथ तथा सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरूका लागि महानगरपालिका भित्र कानुनले निषेध गरेका स्थान बाहेक अन्यत्रका उपयुक्त स्थलहरू पहिचान गर्न महानगरपालिकाले  एक हप्ताभित्र पहल गर्ने उल्लेख छ । 

सहमतिपत्रमा काठमाडौँ महानगरपालिकाको तर्फबाट चिनकाजी महर्जन र ईःसहितका सरोकारवालाहरूको हस्ताक्षर रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्