
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भएपछिको पहिलो चार वर्षमा राज्य सञ्चालनको नेतृत्व कांग्रेसले नपाउँदा संविधान कार्यान्वयनसँग जोडिएका कानुन बन्न नसकेको बताएका छन् ।
आज धनगढीमा आयोजित ‘संविधान कार्यान्वयन जनप्रतिनिधिको भूमिका’ विषयक अन्तक्र्रियामा उनले संविधान जारी भएपछि तीन वर्षभित्र संविधान कार्यान्वयनसँग जोडिएका सबै कानुन बनाइसक्ने कुरा उल्लेख गरिएको भए पनि सरकारको नेतृत्वकर्ता कम्युनिष्ट पार्टीले यस्ता कानुन बनाउन चासो नदिएको आरोप लगाए ।
“संविधान जारी भएपछिको पहिलो कार्यकालमा कांग्रेसको नीति विचारअन्तर्गत राज्य सञ्चालन हुन नपाउँदा संविधानको वास्तविक कार्यान्वयन जनताको पक्षमा हुन सकेन”, संविधान मस्यौदा समितिका सभापतिसमेत रहेका नेता सिटौलाले भने, “कम्युनिष्ट पार्टीको सरकारले संविधान कार्यान्वयन गर्नुभन्दा सिङ्गो राज्य प्रणालीलाई ‘क्याप्चर’ गरेर पार्टी र कार्यकर्ताको पक्षमा काम गर्दा समस्या देखियो ।”
राज्य सञ्चालकबाट हुने कमीकमजोरीको दोष संविधानलाई दिन उचित नहुने उल्लेख गर्दै उनले संविधानबमोजिमका कुरा लागू हुन नसकेको हालको अवस्थामा यसको मूल्याङ्कन गर्ने बेला आइनसकेको बताए । उनले कांग्रेसले अब सदन र सडकबाट जनताका पक्षमा काम गर्नुपर्ने बेला आएको बताए ।
कार्यक्रममा कांगे्रसबाट निर्वाचित पालिका तह र प्रदेशसभा तहका जनप्रतिनिधिले संविधान कार्यान्वयका सवालमा देखिएका समस्यालगायतका विषयमा बोलेका थिए ।